पाँच कारोबार दिनमा १४० अंकले घटेको नेप्से छैठौं दिनमा ३५ अंक बढ्यो

0
Shares

गत सातादेखि निरन्तर दोहोरो अंकको गिरावट आएको सेयर बजार यो साताको अन्तिम दिन बिहीबार ३५ अंक बढीले उकालो लागेको छ ।

बैंकिङ्ग प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेको सेयर बजार राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण थप प्रभावित भएको थियो । गत बिहीबारबाट लगातार घटेको बजार १४० अंक तल आइसकेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय हुँदा बजारमा सुधार आएको हो ।

साथै बैंकहरुले वैशाख पनि ब्याजदर नबढाउने अनौपचारिक खबरहरु प्रवाह भएकाले पनि यसको प्रभाव बजारमा देखिएको हो । आयातमा कडाई गर्दा कतिपयले शेयर बजारमा लगानी गरेको आँकलन पनि हुन थालेको छ ।

गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । अघिल्लो बिहीबार करिब २४ अंकले घटेको नेप्से आइतबार ३०।८९, सोमबार १४.८८, मंगलबार ४६.४६ र बुधबार २३.३३ अंकले घटेको थियो ।

बिहीबार ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा उक्लिएको छ । ठूला कम्पनीको कारोबार सूचक १.७९ प्रतिशतले बढेको छ । यस्तै करोबार रकम समेत केही बढेको छ । यसदिन २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख बराबरमा किनबेच भयो । अघिल्लो दिन १ अर्ब ९९ करोड बराकरको सेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका १३ उपसमुहकै सूचक सकारात्मक रहेको बजारमा अन्य, व्यपार तथा बीमा समुहकाले धेरै कमाए । आजको बजारमा नबिल बैंकको सर्वाधिक ७ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । प्राइम बैंक, हिमालयन डिष्टलरी लगायतका कम्पनी उच्च कारोबार गर्नेमा परेका छन ।

यसदिन हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । नेपाल टेलिकम र एक्सल डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशत बढीले मूल्य बढेको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।