मार्जिन कारोबार सेवा यथाशीघ्र सञ्चालन गर्न ब्रोकर कम्पनीलाई नेप्सेको निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मार्जिन कारोबार अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार सुविधा यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

नेप्सेले धितोपत्र बोर्डबाट असोज १ गते आएको निर्देशन पाए अनुसार शेयर मार्जिन कारोबार सेवा संचालन गर्न अनुमति पाएका २१ ब्रोकर कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

नेप्सेले मार्जिन कारोबार सेवा संचालनका लागि आवश्यक पूर्वाधारको व्यवस्था भईसकेको अवस्थामा पनि अनुमति प्राप्त दलाल व्यवसायले सेवा सुचारु नगरेपछि लगानीकर्ताको हित तथा बजारलाई थप चलायमान बनाउन भन्दै यथाशिध्र सेवा संचालन गर्न निर्देशन दिएको जनाएको छ ।

हालसम्म २१ वटा धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबारको लागि स्वीकृति पाइसकेका छन् । नेप्सेले भदौ २६ गतेसम्ममा २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको हो ।

मार्जिन सुविधा प्रदान गर्ने ब्रोकरहरुको न्युनतम नेटवर्थ ५ करोड रुपैयाँ हुनु पर्ने व्यवस्था गरिएको छ। नियम अनुसार ब्रोकरहरुले नेटवर्थको दुई गुणासम्म मार्जिन सुविधा प्रदान गर्न सक्छन्। यस आधारमा अहिले अनुमति पाएका ब्रोकरहरुले कम्तिमा पनि दुई अर्ब १० करोड रुपैयाँको मार्जिन सुविधा प्रदान गर्न सक्ने छन्।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन अनुमति पाएका ब्रोकर कम्पनी

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन अनुमति पाएका ब्रोकर कम्पनीहरुमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज (५०), भिजन सेक्युरिटिज (३४), नेपाल स्टक हाउस (१४), सेक्युर्ड सेक्युरिटिज (३६), श्री कृष्ण सेक्युरिटिज (२८), प्राइमो सेक्युरिटिज (१६), कोहिनुर सेक्युरिटिज (३५), दिपशिखा सेक्युरिटिज (३८), सुन्धारा सेक्युरिटिज (५२), प्रज्ञान सेक्युरिटिज (१०), नासा सेक्युरिटिज (५८), सुमेरू सेक्यूरिटिज (३९), आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (५७), इम्पेरियल सेक्यूरिटिज (४५), दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस (५९) डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज (४४), दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (३३), स्वेता सेक्युरिटिज (२५), निभ सेक्युरिटिज (४७), सिप्रवी सेक्युरिटिज (२२) र अनलाईन सेक्युरिटिज (४९) ले मार्जिन सेवा उपलब्ध गराउनका लागि अनुमति पाएका छन् ।

ब्रोकर मार्फत मार्जिन कारोबारको लागि छानिएका कम्पनी

नेप्सेले ब्रोकर मार्फत मार्जिन कारोबारको लागि १२ वाणिज्य बैंकसहित कूल ३३ वटा कम्पनीहरुको सूची तयार गरेको छ । जसमा १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा लघुवित्त संस्था, ३ वटा हाइड्रोपावर, होटल्स र अन्य समुहको एकरएक वटा कम्पनीहरु रहेका छन् ।

मार्जिन कारोबारका लागि योग्य सूचीको ३३ सूचीकृत कम्पनीमध्ये १२ वाणिज्य बैंकहरु क्रमश एभरेष्ट, ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल बंगलादेश, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, सानिमा, नेपाल एसबिआई, सनराइज, सिद्धार्थ, हिमालयन र एनएमबि बैंकलाई मार्जिन ऋण दिन योग्य सूचीमा समावेश गरेको छ।

यसैगरि ७ विकास बैंकहरुमा गरिमा, मुक्तिनाथ, कैलाश, पूर्णिमा, तिनाउ मिसन र गण्डकी र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । जसमध्ये कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकसँग तथा पूर्णिमा डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्टसँग मर्जर प्रकृयामा रहेका कारणले यी बैंकको शेयर कारोबार रोक्का छ। 

उता ९ माइक्रोफाइनान्सहरुमा आरएसडिसी, विजय, वोमी, आरएमडिसी, एनएमबि माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, लक्ष्मी, ग्लोबल आईएमई, र नेशनल माइक्रोफाइनान्स कम्पनी रहेका छन्।

हाइड्रोपावरतर्फ चिलिमे, बुटवल पावर र ङादी पावर गरि ३ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य भएका छन् भने होटल्सतर्फ ओरियन्टल र अन्य उप समूहबाट नेपाल टेलिकमको शेयरमा मात्र लगानीकर्ताले मार्जिन पाउने भएका छन्।

मार्जिन सुविधा सम्बन्धि कार्य्विधि अनुसार कम्तिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीहरु मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ ।

मार्जिन कारोबार सुविधा प्रदान गर्न योग्य हुन तोकिएको मापदण्ड पूरा गर्न नसक्दा अन्य ब्रोकर र कम्पनीलाई यो सुविधा प्रदान नगरिएको नेप्सेको भनाई छ ।

मार्जिन कारोबार सेवा सुरु भए पछि शेयर बजारमा कम्तीमा दुई अर्ब भित्रिने भन्दै शेयर दलालहरुले खुसी व्यक्त गरेका छन् । दोस्रो बजारमा ब्रोकरमार्फत मार्जिन कारोबार सेवा सुरु भए पछि बजार भाइब्रेन्ट हुने आशा लगानीकर्तामा छ।