सर्टिफिकेट धितोमा ऋणलिने व्यवस्थालाई सहज बनाउन युवा उद्यमीको माग

0
Shares

ललितपुर सानेपाको होटल गार्डेनमा आजबाट सातौँ मेडइन नेपाल एक्पो सुरु भएको छ । दुइदिने एक्पोको उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे ।

एक्पोको उद्घाटन गर्दै मन्त्री यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्सो मार्फत प्रस्तुत गरेको उनको भनाई थियो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । उनले कतिपय युवा उद्यमीहरुले स्वदेशी उत्पादनहरु निर्यात पनि गरिरहनु भएको छ । निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार छ, उनले भने ।

मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीहरुलाई स्पेश उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । उनले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने र सर्टिफिकेट राखेर विना धितो ऋणलिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवाहरु उद्यमी बन्न सक्ने बताए ।

प्रदर्शनी स्थलको व्यवस्था नहुँदा पनि उद्यमीहरुलाई निकै समस्या परेको उनको भनाई थियो । हामीलाई प्रदर्शनी स्थलको पनि ठुलो समस्या छ, विभिन्न ठाउँ चाहारेर प्रदर्शनी गर्नुुपर्ने बाध्यता छ, उनले भने, सरकारले एउटा निश्चित स्थान तोकेर हामीलाई प्रदर्शनी स्थल बनाइदियो भने धेरै सजिलो हुने थियो ।

हाल नेपाल युवा उद्यमी मञ्चमा देशभरका ४ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागिता रहेको छ । प्रदर्शनीमा नेपालमा उत्पादीत कपडा, मूर्ती, विभिन्न जडिवुटी, अर्गानिक तरकारी,पश्मिना अचार, मह, लगायत विभिन्न कम्पनीका उत्पादन तथा फुड, बैकिन गरी १ सय वटा स्टलहरुको सहभागीता रहेको छ । मेला शनिवार सम्म चल्नेछ ।