नौ महिनामा आधा बजेट पनि खर्च भएन, पूँजीगत खर्च साढे २७ प्रतिशत मात्रै

0
Shares

सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधि पूरा हुँदासम्म विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा सरकारले जम्माजम्मी ४८.६४ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । यसअवधिमा लक्ष्यको साढे ६७ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशजनक छ । ९ महिनाको अवधिमा सरकारको विकास खर्च २८ प्रतिशत पनि पुगेको छैन।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार २०७८ चैत्र ३० गते बुधबारसम्म सरकारले २७.४५ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ । अर्थमन्त्री जनार्दन शर्माले गत मंसिरमा पत्रकार सम्मेलन गरेर हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन नसक्दा अर्थमन्त्रीले अघि सारेको लक्ष्य विफल हुँदै गएको छ ।

केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । चैत्रमसान्तसम्म सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको हो ।

प्रतिस्थापन बजेट मार्फत अर्थमन्त्री शर्माले चालुतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख, पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए । जसमध्ये ९ महिनाको अवधिमा कूल बजेट ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख खर्च भएको छ । यसअवधिमा पूँजीगत खर्च २७.४५, चालूतर्फ ५८.७२ र वित्तीय व्यवस्थापनतर्फ ३४ं.२९ प्रतिशत बजेट खर्च भएको छ ।

बजेट खर्च निराशजनक रहेपनि स्रोत व्यवस्थापनमा भने सरकार सफल नै देखिएको छ । ९ महिनाको अवधिमा सरकारले ६७.८६ प्रतिशत स्रोत व्यवस्थापन गरेको छ । सरकारले चालु वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा चैत्र मसान्तसम्ममा ७ खर्ब ८९ अर्ब २६ करोड ४ लाख राजश्व उठाइसकेको छ ।

यसअवधिमा कर राजस्व ६८.१५ र गैरकर राजस्व ५४.५८ प्रतिशत उठेको छ । यसबीच सरकारले लक्ष्यको २३।१७ प्रतिशत अनुदान प्राप्त गरेको छ । सरकारले यो वर्ष ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।