बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स


नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ ।
चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ ।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन । चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ । चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।
त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ । यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले एक वर्ष अघिदेखि उडान रोकिएको थियो । कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले क्वालालम्पुर राम्रो स्रोत बजार भएकाले आगामी कात्तिक १० देखि सो गन्तव्यमा उडान शुरु गरिने बताए ।
कम्पनीले यात्रुको सुरक्षा, सेवामा सुदृढीकरण, सामूहिकता तथा आतिथ्य सत्कारलाई प्राथमिकता दिएको उनले बताए । पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने बताए ।
उनले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा हिमालयले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नपालको अर्थतन्त्रमा योगदान पु¥याउने बताए ।
हिमालयले चीनलगायत गन्तव्यमा उडान थप गर्ने योजनासँगै जहाजको सङ्ख्या थप्ने प्रक्रियासमेत अघि बढाएको बुझिएको छ । कम्पनीको यही असोज महिनाभित्रै २८ सिट क्षमताको एयरबस ३१९ भाडामा ल्याउने तयारीमा छ । हिमालयले गत जेठ ३ गते भियतनामको ब्याम्बो एयरलाई भाडामा दिएको जहाज पनि फिर्ता ल्याउन लागेको छ । कम्पनीले छ महीनाका लागि जहाज भाडामा दिएको थियो ।
गत साउन ६ गतेबाट बङ्गलादेशको ढाकामा पनि उडान शुरु गरेको हिमालयले आगामी वर्षभित्र पाँच वटा जहाजले उडान गर्ने योजना बनाएको छ । अर्को वर्ष पनि नयाँ जहाज भाडामा ल्याउने एयरबससँग सम्झौता भइसकेको छ । एअरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य दोहा, दुबई÷आबुधावी र दमाममा उडान गरिरहेको छ ।
सन २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल पाँच गन्तव्य अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान भर्दै आएको छ । आठ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए–३२०–२१४ सिरिजका जहाजले उडान गरिरहेको हिमालयले निकट भविष्यमा ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति थप दुई थान ए–३१९ सिरिजका जहाज खरीद गर्ने योजना बनाएको छ । एशियाली मुलुकमा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हिमालयले हालै युएईको आबुधाबी र बङ्गलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ ।