अपर सोलु हाइड्रोले वैशाख २२ गतेदेखि साढे १३ करोडको आईपीओ निष्काशन गर्दै

0
Shares

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि साढे १३ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।

जसअनुसार कम्पनीले प्रतिसेयर १०० अंकित दरका १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याउनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गर्न लागेको हो ।

बैशाख २२ गतेदेखि निष्काशन हुने उक्त सेयर छिटोमा जेठ ५ गते निष्काशन बन्द हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ लाख ५० हजार कित्ता बाँडफाँडपछि दाेस्राे चरणमा सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा २३.५० मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरेको छ । सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले प्रर्वद्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा आयोजनाको विद्युत गृह छ ।

आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ८ वटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ । कम्पनीको इक्वीटी २५ प्रतिशत छ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी ४ अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।