वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोकिएन, ९ दिनमै २२ अर्ब घट्यो

0
Shares

चालु आर्थिक वर्षको वैशाख महिनाको पहिलो नौ दिनमै वाणिज्य बैंकहरुबाट २२ अर्ब निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैंकहरुको कर्जा समेत ४ अर्बले गिरावट आएको छ ।

अघिल्लो साता अर्थात वैशाख १ र २ गते गरी दुई दिनमा वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरिएको थियोे । सो अवधिमा बैंकहरुको कुल कर्जा प्रवाह २ अर्बले घटेको थियो । वैशाखको दोस्रो साता अर्थात वैशाख २ देखि ९ गतेसम्ममा वाणिज्य बैंकहरुबाट १० अर्ब निक्षेप बाहिरिएको छ भने कर्जा समेत २ अर्बले घटेको छ । वैशाखको पहिलो र दोस्रो सातामा कुल २२ अर्ब निक्षेप बाहिरिएको छ भने ४ अर्बले कर्जा घटेको छ ।

बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाख ९ गतेसम्म बैंकहरुले ४३ खर्ब ६७ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ९४ अर्ब कर्जा विस्तार गरेका छन । गत चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब निक्षेप उठाएर ४१ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका थिए ।

बैंकहरुबाट निक्षेप आउन नसकेपछि कर्जा लगानी ठप्प जस्तै छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह रोकिएको हो । वैशाख लागेपछि बैंकहरुबाट निक्षेप बाहिरिएको छ । निक्षेप बढाउन नसक्ने बैंकहरुलाई कर्जा लगानी योग्य रकमको अभावले समेत च्याप्दै लगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।