इच्छाराज तामाङको सीटीसी मल लिलामी हुँदै, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

0
Shares

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको लगानी रहेको सिभिल स्टेटस्को नाममा रहेको सीटीसी मल लिलामी हुने भएको छ ।

कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया सुरु गरेको हो । काठमाण्डौं महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा रहेको सीटीसी मल लिलामी गर्ने अल्टिमेटम दिएको हो । उक्त मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न सोमबार सूचना निकालेको छ ।

कोषबाट लिएको कर्जा लिएको म्यादभित्र ऋणीले कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लङ्घन गरेकाले जे, जस्तो अवस्थामा सम्पत्ति रहेको छ, यथास्थितिमा खरिद गरी लिन इच्छुक नेपाली नागरिक, फर्म वा कम्पनीबाट बोलपत्र आह्वान गर्ने निर्णय भएको जनाएको छ ।

बोलपत्र फारम सूचना प्रकाशित भएको मितिले ३५ औं दिनको दिउँसो ४ बजेभित्र कोषको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा आइपुग्ने गरी सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

बोलकबोलदाताले बोलपत्र साथ आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खाता नंम्बर ००४०१०१०२५४३७३ मा जम्मा गरेको सक्कल भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिले कम्तीमा १२० दिन म्याद कायम रहेको कोषको नाममा जारी भएको सो रकम बराबरको वाणिज्य बैंङ्कको जमानत (बैंक ग्यारेन्टी) वा कोषको नाममा जारी भएको गुड फर पेमेन्टको चेक संलग्न गरेको हुनुपर्नेछ ।

प्राप्त बोलपत्रहरू कोषको केन्द्रीय कार्यालय, पुल्चोकमा यो सूचना गोरखापत्रमा प्रकाशित भएको मितिले ३६ औं दिन (जेठ ३० गते) को १ बजे खोलिने कोषले जानकारी दिएको छ । बोलपत्र खोल्दा बोलपत्रदाता वा बोलपत्रदाताको आधिकारिक प्रतिनिधिको रोहवारमा खोलिने छ । बोलपत्र स्वीकृत भई स्वीकृत बोलपत्रदाताले सम्पूर्ण रकम दाखिला गरेपछि अन्य बोलपत्रदाताको धरौटी फिर्ता हुने सूचनामा उल्लेख गरिएको छ ।

कोषको सञ्चालकमा तामाङ सहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया छन् । कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रुपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमननन्दन वैद्य छन् ।

कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो । यसअघि गत मंसिर ६ गते लिलामी गर्ने अल्टिमेटम दिएको सञ्चय कोषले बैशाख २६ गते सोमबार लिलामीको सूचना निकालेको थियो । कोषले सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र ऋण चुक्ता नगरे धितो लिलाम गरेर रकम असुली गर्ने बताएको थियो ।

इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । सिभिल स्टेटस्को नाममा रहेको मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए । एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएपछि तामाङ २०७८ असोज १८ गते पक्राउ परेका थिए । पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।