निजी क्षेत्रका उर्जा उत्पादकद्धारा आन्दोलन घोषणा, सरकारलाई चाबी बुझाउने

0
Shares

निजी क्षेत्रका उर्जा उत्पादकहरुको संस्था स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले सरकारका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै निजि क्षेत्रका उर्जा उत्पादकहरुको समस्या समाधानको माग गदे ७ बुँदे आन्दोलनका कार्यक्रम तय गरेको छ ।

निजी क्षेत्रबाट संचालित जलविद्युत आयोजनाहरुको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ । उर्जा उद्यमीले राखेका माग सम्बोधन नभए उर्जामन्त्री समक्ष आयोजनाका चाबी बुझाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।

संघले पहिलो चरणमा निजी क्षेत्र तथा सरोकारवाला सरकारी निकायकाहरुसँग छलफल गर्ने, सतारुढ र प्रतिपक्ष दलका प्रमुख नेताहरु तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

यस्तै विद्युत नियमन आयोग, विद्युत विकास विभाग र प्राधिकरणमा एक घन्टा धर्ना दिने, आयोजना स्थलमा मागको जानकारी सहितको कालो ब्यानर राख्ने र माग पुरा नभएसम्म कालोपट्टी बाँधेर काम गर्ने तथा माग पुरा नभएमा उर्जा मन्त्री समक्ष कात्तिक १ गते रुग्ण २५ आयोजनाको चाबी बुझाउने कार्यक्रम रहेको छ ।

इपानले विशेषगरी उर्जा क्षेत्रमा विद्युत खरिद दर, ब्याजदर, प्रशारण आउटेज, राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकाश दशक सम्बन्धि अवधारणा पत्र, प्रसारण लाईन र ढिलो उत्पादन हर्जना जस्ता समस्या उर्जा उत्पादकहरुले व्यहोरि रहेको जनाएका छन् ।