लगातार दुई दिन दोहोरो अंकले बढेको शेयर बजारमा तेस्रो दिन गिरावट, फेस्टिभ मुडमा लगानीकर्ता

0
Shares

लगताार दुई दिन दोहोरो अंकले बढेको शेयर बजारमा तेस्रो दिन भने गिरावट आएको छ। बुधबार नेप्सेको कारोबार मापक सूचक ४.९८ अंकले घटेर ११४०.७१ विन्दुमा ओर्लिएको छ।

शेयर बजारका लगानीकर्ता फेस्टिभ मूडमा गएसँगै सूचक तथा कारोबार रकममा गिरावट आएको छ । सोमबार र मंगलबार बजार दोहोरो अंकले बढेको थियो। तर बुधबार भने बजार झण्डै ५ अंकले घट्न पुग्यो ।

बुधबारको बजारमा दिनभरिमा १६१ कम्पनीका सात लाख ८५ हजार कित्ता शेयर २० करोड ३२ लाख रुपैयाँमा किनबेच भयो ।

बैंक अफ काठमाण्डूको संस्थापक शेयर सबैभन्दा बढी दुई करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै दोस्रो बढी कारोबार बैंक अफ काठमाण्डूकै साधारण शेयरको किनबेच भयो । साधारण शेयरको एक करोड ९१ लाख रुपैयाँको कारोबार भयो। बैंक अफ काडमाण्डू्को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेकाले पनि उच्च कारोबार भएको हो ।

एघार समूहको कारोबार भएको बजारमा अन्य र सामूहिक लगानीकोषका उप सूचक बाहेक बाँकी सबै सूचक घटेका छन्। होटेल समूह २.६७ प्रतिशतले घट्यो। सबैभन्दाबढी अन्य समूह ०.५५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ६.३८ प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको सबैभन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ ।