मौद्रिक नीति समीक्षा: अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दर यथावत

0
Shares

नेपाल राष्ट्र बैंकले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राख्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

केन्द्रिय बैंकले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने भएको छ ।

मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने बताएको छ ।

कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि केन्द्रीय बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिने भएको छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने नीति राष्ट्र बैंकले लिएको छ ।

आन्तरिक आर्थिक तथा वित्तीय परिदृश्य

केन्द्रीय बैंकका अनुसार कोभिडको समयमा अवलम्वन गरिएको लचिलो नीतिगत कार्यदिशा र कोभिड संक्रमणमा आएको कमीले आर्थिक पुनरुत्थानको गति बढ्नुको साथसाथै आन्तरिक मागसमेत विस्तार भएको छ ।

आन्तरिक उत्पादन र मागबीच बढ्दै गएको अन्तरको प्रभाव व्यापार घाटा, चालु खाता तथा शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति जस्ता बाह्य क्षेत्रका परिसूचकहरुमा परेको छ ।

बाह्य क्षेत्रमा परेको दबाब कम गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थाका फलस्वरुप विदेशी विनिमय सञ्चितिको घट्ने दर केही कम भएको राष्ट्र बैंकको भनाई छ । तथापि, आन्तरिक माग तथा आपूर्तिको अवस्था, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवा र पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण आयात मूल्यमा भएको वृद्धिसमेतलाई दृष्टिगत गर्दा बाह्य क्षेत्र स्थायित्वमा विद्यमान जोखिम केही समय कायमै रहने राष्ट्र बैंकको भनाई छ ।

विश्वव्यापी रुपमा भइरहेको वस्तु तथा इन्धनको मूल्यवृद्धि र सार्वजनिक यातायातको भाडादरमा गरिएको समायोजनलगायतका कारणहरुले नेपालमा समेत मूल्यमा चाप पर्न गएको छ ।
साथै, कोभिड संक्रमणले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोध, कोभिड संक्रमण कम भएसँगै विश्व आर्थिक गतिविधिमा भइरहेको विस्तार र रसिया–युक्रेनबीचको युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र वस्तु तथा सेवाको मूल्यमा वृद्धि भइरहेको छ ।

यसर्थ, आन्तरिक मूल्यमा विद्यमान चापको स्थिति केही समयसम्म कायमै रहनेदेखिन्छ । टण्। आर्थिक पुनरुत्थानले गति लिएसँगै आन्तरिक मागमा आएको विस्तारका कारण वित्तीय स्रोत अन्तर बढ्न गएको केन्द्रीय बैंकको भनाई छ ।

बढ्दो स्रोत अन्तर र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनका कारण बैंकिङ्ग प्रणालीबाट तरलता प्रशोचन भई एकातिर ब्याजदरमा दबाब पर्न गएको छ भने अर्कोतिर बाह्य क्षेत्र स्थायित्व कायम गर्न मौद्रिक नीतिको कार्यदिशा कसिलो राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।