पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी, बूढीगण्डकीको नाममा ७० अर्ब सङ्कलन

0
Shares

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको जानकारी दिए ।

अघिल्लो सरकारले पूर्वाधारको विकासमा जोड दिने भन्दै इन्धनमा प्रतिलिटर १० बराबरको कर उठाउने निर्णय गरेको थियो । सुरुमा बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर प्रतिलिटर पाँचका दरले कर उठाइएको थियो । तत्कालीन सरकारको निर्णयानुसार अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधारको विकासका लागि प्रतिलिटर रु पाँच थप कर उठाउने निर्णय भएको थियो ।

बूढीगण्डकीको नाममा मात्रै सरकारले ७० अर्ब बढी सङ्कलन गरिसकेको छ । पूर्वाधार करका नाममा उठेको रकम सोझै सरकारको राजस्व खातामा जम्मा हुने गरेको छ ।

मन्त्रिपरिषद्ले कर समायोजनका सम्बन्धमा निर्णय गरेको भए पनि अर्थमन्त्रालयले आवश्यक निर्णय गर्नुपर्नेछ । अर्थमन्त्रालयले त्यससम्बन्धमा विचार गरिरहेको समेत मन्त्री बडूको भनाइ छ । नेपाल आयल निगमले हाल पेट्रोल प्रतिलिटर १८० मा बिक्री गरिरहेको छ ।

लगातार मूल्यवृद्धि भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री बडूले भने आन्तरिक कारणले नभई अन्तर्राष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको जानकारी दिए । सरकारको पछिल्लो निर्णयका आधारमा अर्थमन्त्रालयले उपयुक्त निर्णय गर्ने जनाएको छ ।

निगमका अनुसार हाल पेट्रोलको खरिद मूल्य प्रतिलिटर १९४ रुपैयाँ ६४ पैसा रहेको छ । निगमले हाल तय गरेको मूल्यका आधारमा पेट्रोलमा नै प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा घाटा रहेको छ । निगमलाई १५ दिनमा मात्रै पेट्रोल बिक्रीबाट ४९ करोड ९६ लाख बराबरको घाटा हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै, डिजेलको खरिद मूल्य प्रतिलिटर १८९ रुपैयाँ ८२ पैसा रहेको छ । निगमले प्रतिलिटर १६३ मा बिक्री गर्दै आएको छ । डिजलबाट मात्रै १५ दिनमा एक अर्ब ६९ करोड ४८ लाख बराबरको घाटा हुने गरेको छ । मट्टितेलको खरिद मूल्य प्रतिलिटर १४० रुपैयाँ ८९ पैसा रहेको छ तर, निगमले मट्टितेल भने १६३ मा नै बिक्री गर्दै आएको छ । त्यसमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा नाफा छ । निगमले १५ दिनमा एक करोड ३९ लाख बराबरको नाफा गर्ने गरेको छ ।

हवाई इन्धन आन्तरिकतर्फको खरिद मूल्य प्रतिलिटर १५२ रुपैयाँ दुई पैसा छ । निगमले प्रतिलिटर १६६ मा बिक्री गर्दै आएको छ । यसबाट १५ दिनमा तीन करोड ६४ लाख बराबरको नाफा हुने गरेको छ । हवाई इन्धन बाह्यको खरिद मूल्य प्रतिलिटर १३१ रुपैयाँ १९ पैसा छ । निगमले हवाई इन्धनबाट प्रतिलिटर ५९ रुपैयाँ ८१ पैसा नाफा गरेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर एक हजार ८०० मा बिक्री गर्दै आएको छ । प्रतिसिलिण्डर लागत दुई हजार ६७९ रुपैयाँ ७५ पैसा रहेको छ । निगमलाई गयासबाट मात्रै ८७९ रुपैयाँ ७५ पैसा घाटा छ ।

निमगलाई १५ दिनमा तीन अर्ब ३५ करोड ८३ लाख बराबरको घाटा हुने गरेको छ । निगमलाई ग्यासमा मात्रै एक महिनामा तीन अर्ब, डिजेलमा तीन अर्ब ४० करोड र पेट्रोलमा एक अर्ब घाटा हुने सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । निगमले यही जेठ ८ गते मात्रै मूल्य समायोजन गरेको थियो ।

निगमले इण्डियन आयल निगमलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत मे महिनामा ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा रु २० अर्ब ६० करोड मात्र पठाएको छ । बाँकी २२ अर्ब ४० करोड हाल बक्यौता छ । निगमले सञ्चित मुनाफा, मूल्य स्थिरीकरण कोष तथा अन्य कोषमा रहेका सबै रकम सकिसकेको छ । निगमलाई यसबीचमा ४७ अर्ब बराबरको नोक्सान भइसकेको छ ।-रासस

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।