बजेटप्रति निजी क्षेत्र उत्साहित, कार्यान्वयनमा जोड दिन आग्रह

0
Shares

सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गरेका छन।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटमा स्वदेशी उत्पादन र उद्योग प्रवद्र्धन, पर्यटन पूर्वाधार विकास आदि विषय समेटिनु सकारात्मक रहेको व्यवसायीको प्रतिक्रिया छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घले उठाएका धेरै विषय बजेटमा समावेश भएको भन्दै समग्रमा बजेटप्रति उत्साहित भएको बताए । निर्यातमा सहुलियत, उत्पादनमा ‘फोकस’ छ, कृषिलाई पनि सम्बोधन गरेको छ । उत्पादन र कृषिलाई प्राथमिकता दिएकाले उत्साहित रहेको उनले बताए ।

यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले समग्रमा बजेट सकारात्मक रहेको बताए। उनले उत्पादनमूलक उद्योगमा प्रोत्साहन, उद्योगको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन, निर्यातमा अनुदान र निर्यातयोग्य उद्योगलाई विद्युत् महसुलमा छुट दिने नीति पनि स्वागतयोग्य रहेको प्रतिक्रिया दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समग्रमा बजेट स्वागतयोग्य रहेको र यसले निजी क्षेत्रलाई उत्साहित तुल्याएको बताउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले बजेटमा निजी क्षेत्रले उठाएका धेरै कुरा सम्बोधन भएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताइन । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कृषिलाई प्राथमिकता तथा कपास खेती र रबर खेतीलाई प्रोत्साहन गर्ने गरी समावेश गरिएका कार्यक्रम राम्रो भएको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिँदै स्वदेशी उत्पादन र उद्योग प्रवद्र्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहत दिने बताए । उद्योगको जग्गा हदबन्दी जस्ता बजेटले सम्बोधन गर्नु निकै सराहनीय भएको पनि उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।