ख्यातिप्राप्त कार निर्माता कम्पनी रेनल्टद्वारा प्रमुख कार्यकारी बर्खास्त

0
Shares

फ्रान्सको बहुर्राष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनल्टले आफ्ना प्रमुख कार्यकारी थिएरी बोल्लोरलाई पदबाट बर्खास्त गरेको शुक्रबार घोषणा गरेको छ । कम्पनीको पूर्व प्रमुख कार्लोस गोउनलाई वित्तीय अपचलनको आरोपमा जापानी अधिकारीहरुले पक्राउ गरेपछि नौ महिना अघिमात्र थिएरीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिएको थियो ।

कम्पनीले जारी गरेको संक्षिप्त वक्तव्यमा थिएरीलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म प्रमुख वित्तीय अधिकृत क्लोटिल्ड डेल्बोसलाई प्रमुख कार्यकारीको रुपमा कार्य गर्न अस्थायी जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसअघि कम्पनीले आफ्ना जापानी निस्सान कम्पनीको समेत जिम्मेवारी सम्हालेका पूर्व प्रमुख गोउनलाइ गलत वित्तीय रिपोर्टिङ्गको आरोपमा गत नोभेम्बर १९ मा जापानबाट पक्राउ गरिएको थियो । गोउनलाई  दिन बाँकी दुई बर्षको भूक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर-प्रतिस्पर्धी धारा अन्तर्गत तलबको दुई बर्ष बराबरको भूक्तानी रोक्ने रेनल्टको सञ्चालक समितिको निर्णय गरेको थियो। गोउनलाई करारमा उल्लेख गरिएको रेनल्टको शेयरबाट पाउने लाखौँ यूरो बराबरको रकम पनि पाउन अयोग्य घोषणा गरिएको थियो।

गोउनले आफु विरुद्ध लगाइएका आरोपहरु असत्य भएका भन्दै आरोपहरूको खण्डन गर्दै आएका छन् । सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ। वकीलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए। उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ्ग जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए। केही वर्षयता निस्सान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ। हाल निस्सानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ।