सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि ३ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले निष्काशन तथा बिक्री खुला गर्ने उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाका स्थानीय बासिन्दाहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
कम्पनीले प्रतिसेयर १०० अंकित दरमा ३ करोड मूल्यका कुल ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले असार १६ गतेसम्म आवेदन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने असार ३१ गतेसम्म उक्त आईपीओको बिक्री खुला रहने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
सो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट स्थानीय प्रमाणित हुने परिचयपत्रका साथ आवेदन दिन सकिनेछ ।
यसका अलवा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाण्डौं, प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखाबाट समेत आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सार्वजनिक निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडबाट साख मूल्याङ्कन गराएको हो । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्स नेपाल लिमिटेड, काठमाण्डौंबाट २०७८ फागुन ४ गते रेटिङ्ग गराएको कम्पनीले जनाएको छ । जसमा कम्पनीले ‘केयर एनपी बीबी इस्यूअर’ रेटिङ्ग प्रमाणपत्र पाएको छ । डलब बी इस्यूर रेटिङ्ग प्राप्त संस्थाले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।यो रेटिङ्ग २०७९ माघ २१ गतेसम्म बहाल रहनेछ ।
प्रतिमेगावाट लागत २१ करोड ३८ लाख
कम्पनीले निर्माण गरिरहेको दरमखोला ए जलविद्युत आयोजनाको लागत पनि उच्च नै रहेको देखिन्छ । हाल निजी क्षेत्रबाट १७-१८ करोड प्रतिमेगावाट लागतमा पनि आयोजन निमार्ण भइरहेको सन्दर्भमा कम्पनीको लागत करिब साढे २१ करोड लागत रहेको छ ।
कम्पनीले २०७३ असार १२ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई दरमखोला ए जलविद्युत आयोजनाको बिजुली बिक्री गर्दै आइरहेको छ । कूल ५३ करोड ४५ लाख ८ हजार रुपैयाँ लागतका अनुमान गरिएको छ । २.५ मेगावाट क्षमताको आयोजना रहेकाले प्रतिमेगावाट लागत २१ करोड ३८ लाख ३ हजार २९१ रुपैयाँ हुन आउँछ । कम्पनीको साधारण लगानी फिर्ता हुन ७ वर्ष २ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि १२ वर्ष ४ महिना रहेको छ ।
कम्पनीले विसं २०७० साल जेठ २ गते आयोजनाको उत्पादन अनुमतिपत्र लिएको थियो । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ । यस आधारमा कम्पनीले अझै २६ वर्ष अर्थात विस २१०५ जेठ १ गतेसम्म विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ ।
वित्तीय अवस्था
कम्पनीको गत चैतसम्मको परिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ ७५.८१ रुपैयाँ, र प्रतिसेयर आम्दानी १०.८५ रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनी ५ करोड ८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । आगामी तीन वर्षपछि आव २०८०।८१ सम्ममा कम्पनीले ५ करोड ३२ लाख १० हजार सञ्चित नाफा कमाउँदै प्रतिसेयर नेटवर्थ ११७.७४ रुपैयाँ, प्रतिसेयर आम्दानी १३.१७ रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ ।
संगठित संस्थाको दरम खोला ए जलविद्युत आयोजनाबाट उत्पादन हुने २.५० मेगावाट विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग विसं २०६८ चैत १९ मा सम्झौता भएको थियो । उक्त सम्झौताको समयावधी व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि मध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ ।
प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्याक्ट इनर्जीको परिमाण सम्मको उर्जा खरीद वापत वर्षा याममा प्रति किलोवाट घण्टा ४.८० रुपैयाँ र सुख्खा याममा ८.४० रुपैयाँमा विद्युत खरीद दरले हुन आउने रकम कम्पनी अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउने छ । साथै व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिना देखि लागू हुने गरि प्रत्येक वर्षको लागि ३ प्रतिशतका दरले पाँच पटक सम्म मूल्यवृद्धि दिई निम्न तालिका अनुसार विद्युत उर्जा खरीद दर कायम गरिएको छ ।
कम्पनीको अधिकृत ५० करोड, जारी पूँजी ३० करोड र चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ । स्थानीय बासिन्दाका लागि छुट्टाइएको ३ करोड र सर्वसाधारणका लागि छुट्टाइएको ६ करोड गरी कुल ८ करोडको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया