ब्रोकरका शाखा कार्यालयले असार मसान्तसम्ममा अन्तिम स्वीकृति पाउने

0
Shares

नेपाल धितोपत्र बोर्डले करिब २ वर्ष पछि सैद्धान्तिक सहमति दिएका ब्रोकर शाखाको काम अघि बढाउने भएको छ । बोर्डले आगामी केही साताभित्रै टुङगो लाग्ने गरि ब्रोकर शाखालाई सञ्चालन अनुमति दिने भएको हो ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङगानाले धितोपत्र दलाल कम्पनीलाई शाखा खोल्न दिइ पुँजी बजारको विस्तार गर्ने भन्दै करिब डेढ दर्जन शाखा स्थापनाका लागि सैद्धान्तिक सहमती दिएका थिए । ढुङगाना विवादमा तानिएपछि रोकिएको उक्त प्रक्रियाले नयाँ अध्यक्ष आएको ४ महिनापछि निरन्तरता पाउने भएको हो ।

धितोपत्र बोर्डबाट २०७७ साल चैत महिनामा सैद्धान्तिक सहमति पाएका करिब १७ वटा ब्रोकर शाखाले २०७८ साउन र भदौसम्ममा पुर्वाधार तयार गरी धितोपत्र बोर्डलाई निरिक्षणका लागि आग्रह गरेका थिए । ब्रोकरहरुले पुर्वाधार निरिक्षणका लागि अनुरोध गरेपछि धितोपत्र बोर्डले त्यसलाई चासो दिएको थिएन ।

धितोपत्र दलाल कम्पनीलाई शाखा मात्र नभई अधिकारी प्रतिनिधिको समेत व्यवस्था गर्ने भनिएपछि तत्कालिन अध्यक्ष ढुङगानाले माथिबाट अघि नबढाउन निर्देशन आएको जानकारी धितोपत्र दलाल कम्पनीहरुलाई गराएको एक ब्रोकरले जानकारी दिए । “२०७७ साल चैतमा सैद्धान्तिक अनुमति पाई २०७८ साउन र भादैमा सबैले पुर्वाधार तयार गरेर धितोपत्र बोर्डलाई निरिक्षणका लागि बोलाएका थियौ,” ती ब्रोकरले भने,“तर पनि धितोपत्र बोर्डले हालसम्म हेरेको छैन ।”

ब्रोकरका नयाँ १७ वटा शाखा खोल्ने तयारी पुरा गर्दा पनि धितोपत्र बोर्डका कारण सञ्चालनमा लयाउन नसकिएको उनले बताए । “सबैले पुर्वाधार तथा कर्मचारी तयार गरेर राखेको अवस्था छ,” ती ब्रोकरले भने,“ब्रोकरले भाडा तथा कर्मचारीलाई तलब दिने काम गरिराखेको अवस्था छ ।” धितोपत्र बोर्डले सैद्धान्तिक अनुमति दिदा ब्रोकर तथा ब्रोकर शाखा नभएको स्थानमा स्थापना गर्ने प्रक्रिया अघि बढाउन सहमती दिएको उनले बताए ।

धितोपत्र बोर्डले केही स्थानमा खुलेका धितोपत्र ब्रोकरको शाखा कार्यालयको पुर्वाधार निरक्षण पनि गरिसकेको धितोपत्र बोर्डका एक अधिकारीले बताए । “शाखा कार्यालयका लागि बोर्डमा निवेदन दिएका सबैलाइ दिनुपर्ने हुन्छ,” ती अधिकारीले भने,“केही शाखाको पुर्वाधार निरिक्षण भइसकेको छ, त्यसको प्रतिवेदन तयार हुन बाँकी रहेको छ ।” धितोपत्र दलाल कम्पनीका शाखा कार्यालयको अनुमति अब धमाधम दिइने समेत उनले बताए ।

“धितोपत्र दलाल कम्पनीका शाखालाई अन्तिम स्वीकृति दिने काम आगामी एक देखि २ सातामै सुरु हुन्छ,” बोर्डका अधिकारीले थपे,“प्रक्रिया अघ बढीसकेको र पुर्वाधार निरिक्षण पनि सुरु भएको हुनाले यसलाई धेरै समय लाग्दैन ।”

धितोपत्र बजारको विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्सको माग भैरहेको समयमा व्यवस्थापिका संसदको अर्थसमितिका कारण रोकिएको थियो । बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिएपछि धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न दिने भन्दै प्रक्रिया सुरु गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।