निर्यात भएका वस्तुहरुको ४६ प्रतिशत हिस्सा आयातित

0
Shares

नेपालबाट निर्यात भएका कुल वस्तुहरूमा करिब आधा आयातित नै रहेका छन् । भटमास र पाम आयलजस्ता वस्तु व्यवसायीले विदेशबाट आयात गर्ने र नेपालमा आंशिक प्याकेजिङ गरेर भारत निर्यात गर्ने गर्ने गरेका हुन् ।

चालु आर्थिक वर्षको ११ महिनासम्मको कुल निर्यातमा ४६ प्रतिशत हिस्सा भटमास र पाम आयलकाे छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँको कुल निर्यात भएको छ ।

निर्यात भएका वस्तुमध्ये २५ प्रतिशत हिस्सा त भटमासकै तेलको रहेको छ । यो अवधिमा भटमास तेल ५३ अर्ब ३२ करोड रुपैयाँ बराबरको आयात भएर ४६ अर्ब ५८ करोडको निर्यात भएको छ । त्यसैगरी ३८ अर्ब ३९ करोड रुपैयाँको आयात भएको पाम आयल ३९ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालको निर्यातमा खास अर्थ राख्ने वस्तु कार्पेट भने यो ११ महिनामा ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको पैठारी भएको छ । त्यस्तै जुटका सामान ५ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात भएको भने अलैँची धेरै निर्यात हुने वस्तुहरूको सुचीमा छैटाैं स्थानमा छ ।

चालु आवको सो अवधिमा अलैँची मात्र ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ । यो अवधिमा सूर्यमुखीको तेल तथा दाना मात्रै ४ अर्ब ४५ करोडको निर्यात भएको छ । त्यसैगरी फेल्टका सामान ४ अर्ब १७ करोड निर्यात भएको छ । जेठसम्ममा जुसमात्रै ३ अर्ब ३९ करोड रुपैयाँको निर्यात भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।