अनसन पछि गठित कार्यान्वायन समितिको पहिलो बैठकः एओएन फिचर खारेजी र ब्रोकर शाखा तत्काल विस्तार


लगानीकर्ता तिलक कोइरालाले १० दिन अनसन बसे पछि गठन भएको समस्या कार्यान्वायन समितिको पहिलो बैठक बसेको छ । खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा बसेको ४ सदस्यीय समितिको बैठकले पहिलो चरणमा २ वटा काम गर्ने निर्णय गरेको छ ।

दोस्रो बजारमा हुने सेयर खरिद तथा बिक्रिमा अल अर नन् (एओएन) सम्बन्धी हालको व्यवस्था खारेज गर्ने तथा पुर्वाधार तयार भएका ब्रोकर शाखालाई तत्काल सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

एओएन फिचर खारेज गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्ने निर्णय पनि समितिले गरेको छ । खरिदतर्फ पलिे नै यो फिचर हटाईसकिएकोमा अब बिक्रीतर्फ पनि खारेज गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक विनय देव आचार्य र मुक्ति नाथ श्रेष्ठ तथा लगानीकर्ताहरूको तर्फबाट पूँजी बजार सुधार संघर्ष समितिका रोहन कार्की र एसपी चौलागाईँ सम्मिलित ४ सदस्यीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिको बैठकले आगामी साताबाट लगानीकर्ताले अघि सारेका १९ बुँदे मागलाई कार्यतालिका बनाएर कार्यान्वयन गर्दै जाने निर्णय समेत गरेको समितिका सदस्य एसपी चौलागाईँले जानकारी दिए ।

पुँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले राखेका माग पूरा गर्न धितोपत्र बोर्डले लगानीकर्ताको तर्फबाट दुई र बोर्डको तर्फबाट दुई गरी चार जना सदस्य रहने गरी कार्यान्वयन समिति गठन गरेको थियो । समिति गठन भएर आइतबारदेखि नै बजार सुधार गर्न धितोपत्र बोर्डले पहलकदमी लिएपछि तिलक कोइरालाले अनसन तोडेका थिए ।

अनसन बसेका कोइरालाको योगदानको चर्चा गर्दै बैठकले उनको स्वास्थ्यलभाको कामना समेत गरेको छ । समितिको अर्को बैठक आगामी आइतबार बस्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।