नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) ले हालै सुरु गरेको अन्तिम मूल्य गणना विधिमा त्रुटी आउँदा सोमबार सेयर बजारका सबै इण्डेक्सहरु अवास्तविक भएका छन् । नेप्सेले कारोबारको अन्तिम १५ मिनेट अवधिको कारोबारको भारित औषतका आधारमा अन्तिम सेयर मूल्य गणना गर्न थालेको थियो । तर सोमबार उक्त गणना विधि भारित औषतमा नभई १५ मिनेटको न्युनतम मूल्यका आधारमा गणना गर्दा बढेको बजार घटेको देखिएको हो ।
नेप्से बन्द भएको केही समयसम्म अन्तिम पटकको सेयर मूल्यका आधारमा बजार १२ अंकभन्दा बढीले उकालो लागेको देखाएको नेप्सेको वेबसाइटमा १५ मिनेटको औसत गणना पश्चात २.०७ अंकले बजार घटेको देखिएको थियो । नोटबजारले विभिन्न कम्पनीहरुको अन्तिम १५ मिनेटको कारोबारको तथ्यांकलाई रुजु गर्दा सोमबार अन्तिम १५ मिनेटको भारित औसत नभई न्युनतम मूल्यलाई अन्तिम मूल्य कायम गर्दा बजार घटेको देखिएको हो ।
सोमबार अधिक कारोबारमा आएका तथा सेयर मूल्यमा उतारचढाव देखिएका कम्पनीहरुको बजार बन्द हुने बेलाको १५ मिनेट अवधिको सेयर मूल्यको भारित औसत अनुसार अन्तिम मूल्य कायम नभएको देखिएको हो । १५ मिनेट अवधिको न्यनतम सेयर मूल्यलाई अन्तिम मूल्य कायम गरिँदा कम्पनीहरुको सेयरको अन्तिम मूल्य धेरै घटेको र त्यसको सिधा असर नेप्से इण्डेक्समा परेको देखिएको हो ।
नेप्सेले यस सम्बन्धमा वेबसाइटमा अध्ययन भइरहेको सूचना सार्वजनिक गरेको छ ।

यो सामग्री तयार गर्दासम्ममा नेप्सेले अनलाइन कारोबार प्रणालीमा कम्पनीहरुको अन्तिम सेयर मूल्य गणनामा भएको त्रुटी सच्याउने क्रममा अनलाइन कारोबार प्रणाली टीएमएसमा बजार बढेको देखिएको छ । अहिले नेप्सेको वेबसाइटमा बजार २.०७ अंकले घटेको देखिएको छ भने टीएमएसमा नेप्से २.६१ अंकले बढेको देखिएको छ ।


नेप्सेमा सूचीकृत कम्पनीहरुको अन्तिम सेयर मूल्यका आधारमा समग्र उपसमुह तथा नेप्से इण्डेक्सको गणना हुने गरेको छ । कम्पनीहरुको अन्तिम सेयर मूल्य गणना विधिमा फरक परेपछि सोमबार कम्पनीहरुको सेयर मूल्य पनि गलत देखिएको छ भने समग्र इण्डेक्स समेत तल झरेको देखिएको हो । भारित औसतमा अन्तिम सेयर मूल्य गणना भएको अवस्थामा कम्पनीहरुको सेयर मूल्य धेरै तल नआउँदा नेप्से इण्डेक्स पनि तल झर्ने अवस्था बन्ने थिएन ।
इण्डेक्सको गणनामा त्रुटी भएको भन्दै चौतर्फी आवाज उठेपछि नेप्सेले त्यसमा अध्ययन भइरहेको सूचना सार्वजनिक गरेको थियो । नेप्सेका अनुसार सोमबार भएका १ लाख ७० हजार ७२६ पटक भएको सेयर कारोबारको विबरण रुजु गरेर कम्पनीहरुको अन्तिम १५ मिनेटको सेयर कारोबारको भारित औसतका आधारमा अन्तिम मूल्य कायम गर्ने काम भइरहेको छ ।










प्रतिक्रिया