आगामी वर्ष २० अर्ब रुपैयाँको विद्युत निर्यात गर्ने प्राधिकरणको प्रक्षेपण

0
Shares

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिश्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताए ।

उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताए । भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाई छ ।

पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताए । ‘मुख्य रुपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरी नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा नतिजा अब विस्तारै देखिने छ ।’

घिसिङले भने ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ । विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने छ ।’

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।

जुन महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात, औसत मूल्य प्रतियुनिट ९.६७ रुपैयाँ

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।