सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि पहिलो चारणको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ५ गते हुनेछ । आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि गरेर कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर जारी गर्नेछ ।
कस्तो छ कम्पनी ?
कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर २०७१ सालदेखि निमार्ण सुरु गरेर २०७४ मंसिरमा सम्पन्न भएको १३ मेगावाट क्षमताको आयोजना हो । कुल दुई अर्ब पाँच करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।
विसं २०७४ मंसिरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनो मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ ।
‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियूनिट सात रुपैयाँ र वर्षायामको समयमा प्रतियूनिट चार रुपैयाँका दरले विद्युत् खरीद बिक्री गर्ने सम्झौता गरेको छ ।












प्रतिक्रिया