सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’ विश्लेषण गर्न विज्ञ बोलाइने, साँझ फेरि बैठक बस्ने

0
Shares

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको आज विहान बसको बैठकले सीसीटीभीको फरेन्सिक रिपोर्ट विश्लेषण गर्न विज्ञसँग परामर्श गर्ने निर्णय गरेको छ । साथै समितिको अर्को बैठक आज साँझ बस्ने भएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको हो ।

सोमबार प्रहरीले पठाएको सीसीटीभीको फरेन्सिक रिपोर्ट मंगलबार विहान बसेको छानबिन समितिको बैठकमा प्रस्तुत गरिएको थियो । उक्त बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए । उक्त फुटेज हेरेपछि विज्ञहरुसँग परामर्श गर्ने भन्दै आज अपराह्न चार बजे बस्ने गरी बैठक स्थगित गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने/नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । समितिमा रहेका एमालेका सांसदहरूले वैज्ञानिक प्रमाणका रूपमा मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन हुने भन्दै त्यतातिर जान नहुने तर्क गरिरहेका छन् ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

असार २२ मा गठन भएको छानबिन समितिले २८ गते काम सुरु गरेको थियो । समितिले साउन १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ । ११ सदस्यीय समितिलाई शुरुमा १० दिनको समय दिइए पनि अनुसन्धानमा समय अपुग भएको भन्दै ७ दिन समय थप गरिएको थियो ।

तत्कालीन अर्थमन्त्री शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ। समितिले असार ५ मा शर्मासँग बयान लिँदा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको आरोपलाई उनले अस्वीकार गरेका थिए।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।