राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबारको पनि अनसाइट अनुगमन गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले गर्ने अन्तर्राष्ट्रिय कारोबारको पनि अनसाइट सुपरिवेक्षण गर्ने भएको छ । केन्द्रीय बैंकले नयाँ अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ सिस्टम मार्गदर्शन २०२२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका २०६१ खारेज गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ब्यालेन्स अफ पेमेन्ट म्यानुअल छैटौ संस्करण लागू गरेको छ । केन्द्रीय बैंकले सोही म्यनुअल अनुसार शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका खारेज गर्दै समय सापेक्ष र विस्तृत रिपोर्टिङ प्रणाली सुरु गरेको हो ।

नेपालमा हुने अन्तर्राष्ट्रिय कारोबार सन्दर्भमा निर्देशिकाले छैठौं संस्करणमा समावेश गरिएका विषयलाई नसमेटेको भन्दै नयाँ मागर्दशन ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

आगामी २०८० साउन देखि लागू हुने उक्त मार्गदर्शन अन्तर्राष्ट्रिय कारोबारको विस्तृत विवरण लिने गरी तयार गरीएको केन्द्रीय बैंकको दाबी छ ।

नयाँ मार्गदर्शनले आइएमएफको ब्यालेन्स अफ पेमेन्ट म्यानुअलको छैठौं संस्करणमा गरिएको व्यवस्था अनुसार ब्यालेन्स अफ पेमेन्ट तथा अन्तराष्ट्रिय लगानीको सन्दर्भमा विस्तृत तथ्याङ्क संकलन हुने केन्द्रीय बैंकले जनाएको छ ।

मार्गदर्शन अनुसार अन्तर्राष्ट्रिय कारोबारको थप विस्तृत र छुट्टा छुट्टै तथ्याङक उपलब्ध हुनेछ । त्यसका साथै बैंक तथा वित्तीय संस्थाले यसका लागि कोर बैंकिङ सफ्टवेयर विकास गर्नुपर्ने हुन्छ । उक्त सिस्टमले अन्तर्राष्ट्रिय कारोबार सम्बन्धी विस्तृत सूचना संकलन गर्नेछ ।

यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका केन्द्रिय तथा शाखा कार्यालयले गरेका अन्तर्राष्ट्रिय सम्पत्ति तथा दायित्वका सबै कारोबारलाई समेत समावेश गर्नुपर्नेछ । यो प्रणालीको रेकर्डमा भएका सबै अन्तर्राष्ट्रिय कारोबारको रिपोर्ट दिनुपर्छ । यसमा विदेशी मुद्राको खाता, नोस्ट्रो र भोष्ट्रो खाता तथा नन रेजिडेन्ट एकाउन्ट विथ नेपाली बैंकको सम्पुर्ण कारोबारको विस्तृत जानकारी केन्द्रीय बैंकलाई दिनुपर्नेछ । यसरी रेकर्ड राख्दै यी सबै खाताको कारोबार हुदाँ विनिमय दर भने खरिद र बिक्री दरको मध्य बिन्दुमा हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक अन्तराष्ट्रिय कारोबारको विस्तृत सूचना संकलन गर्नुका साथै कागजात मार्फत पुष्टि गर्नु पर्नेछ । यसका लागि केन्द्रीय बैंक अनसाइट सुपरिवेक्षणमा आउन सक्नेछ । केन्द्रीय बैंकको सुपरिवेक्षणमा बैंक तथा वित्तीय संस्थाले अन्तराष्ट्रिय कारोबारको आवश्यक कागजात देखाउन सक्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले मार्गदर्शन अनुसारका सूचना संकलन हुने गरी फर्मको विकास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय कारोबारको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई मासिक रुपमा रिपोर्ट बुझाउनुपर्ने हुन्छ । बैंक वित्तीय संस्थाले अन्तर्राष्ट्रिय कारोबारमा नन रेजिडेन्ट कारोबार बुझाउनुपर्नेछ । बैंक वित्तीय संस्थाले यस्तो रिपोर्ट हरेक महिना सकिएको एक सातामा बुझाउनुपर्ने हुन्छ । उक्त रिर्पोट केन्द्रीय बैंकले सुपरभाइजरी इन्फर्मेसन सिस्टम मार्फत लिनेछ । उक्त सिस्टमले रेजिडेन्टर र नन रेजिडेन्ट बीचको अन्तर्राष्ट्रिय कारोबारको विस्तृत विवरण राख्नेछ ।

यसमा कारोबारको उद्देश्य, मुद्रा, कारोबारकर्ताको संस्थागत क्षेत्र, भुक्तानी लिने पार्टी, भुक्तानी प्रकृति लगायतका जानकारीहरु संकलन हुनेछन् ।  नन रेजिडेन्ट इन्टरनेशन ट्रान्ज्यक्सन भन्नाले एक वर्ष भन्दा लामो समय विदेशमा कामगर्ने नेपाली, इण्डियन पेन्सन क्याम्प, व्रिटिस गोर्खा पेन्सन क्याम्प, विदेशी एयरलाइन्स कम्पनीको शाखा कार्यालय, इन्टरनेशनल अर्गनाइजेसन, विदेशी निर्माण कम्पनी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको कारोबारलाई जनाउँछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।