राष्ट्र बैंकले दियो दुई विकास बैंक सहित चार संस्थालाई एक्वायर र मर्जरको स्वीकृति

0
Shares

नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र दुई लघुवित्त गरी चार वटा संस्थालाई मर्जरको सहमति दिएको छ । राष्ट्र बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले २ संस्थालाई सैद्दान्तिक तथा अन्य दुईलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमन्ट बैंकले आपसमा मर्ज हुन अन्तिम स्वीकृति पाएका छन भने मनकामना लघुवित्त र स्मार्ट लघुवित्तलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमन्ट बैंकलाई एक्वायर गर्न लागेको हो । मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको थियो ।

जसमा अब नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक समेत गाभिएपछि बन्ने बैंक राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम गत जेठ ७ गते सम्झौता गरेका थिए । मिसन र तिनाउ गाभिएर बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ छ । नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।

मनकामना र स्मार्ट लघुवित्तलाई सैद्धान्तिक सहमति

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्टबीच एक बराबर एक प्रारम्भिक स्वाप रेसियोमा गाभिन लागेका हुन। यी दुई संस्थाले मर्जरमा जान आइतबार राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका हुन् ।

मर्जर सम्झौतामा दुबै लघुवित्तको सम्पत्ति तथा दायित्वको मूल्यांकनमा १० प्रतिशतभन्दा बढीको फरक परेमा पुन: स्वाप रेसियो निर्धारण गर्ने सहमति भएको थियो । नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनामा एकीकृत कारोबार थाल्ने र नयाँ संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त राख्ने सहमतिमा उल्लेख छ।