सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै


काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ ’ पेस गर्नेछन् ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘ कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ ’, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ ’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धिन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची छ । 
राष्ट्रियसभाको बैठक बस्दै 

अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।
यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने छन् ।
यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ । त्यसैगरी, आजै कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  ०६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।