इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम, छुट्यो कि !

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने भदौ २८ गते मंगलबार (आज) अन्तिम दिन रहेको छ ।

भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको आईपीओमा यसअघि भदौ २१ गतेसम्म आवेदन दिने म्याद भएपनि उक्त अवधिमा सबै सेयर बिक्री नभएपछि एक साता समय थपिएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर जारी गरेको हो । आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले कम्पनीको आईपीओमा एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाबाट आवेदन दिन सकिन्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हाल पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । उक्त सेयर बाँडफाँड भएपछि दोस्रो चरणमा आम लगानीकर्ताको लागि सेयर खुल्नेछ । इष्टर्न हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट साउन ९ गते स्थानीय र सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ मूल्यको १२ लाख ४० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल हाइड्रोपावरले भोजपुर जिल्ला हुँदै बहने पिखुवा खोलाको श्रोत उपयोग गरी ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। जसको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना ऋण पूँजीबाट ६० प्रतिशत र सेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने गरि निमार्ण थालिएको हो । आयोजनाबाट उत्पादित विद्युत ४ किलोमिटरको प्रसारण लाइन निर्माण गरेर भोजपुर सब स्टेशनमा जोडिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।