सन् २०२३ मा नेपालको आर्थिक वृद्धि दर ४.७% रहने एडीबीको प्रक्षेपण, महङ्गी घट्ने

0
Shares

एशियन डेभलपमेन्ट बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि दर ४.७० प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२३ मा हासिल हुने आर्थिक वृद्धि दरको प्रक्षेपण २०२२ को तुलनामा १.१० प्रतिशत कम हो । सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८० प्रतिशतको वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।

एडिबीले सेप्टेम्बरको एशियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३ मा यस अघि गरेको प्रक्षेपण भन्दा आर्थिक वृद्धि कम हुने जनाएको छ । अप्रिलमा ५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएकोमा घटेर ४.७० प्रतिशत मात्र कायम हुने उसको प्रक्षेपण छ ।  यसैगरी सेप्टेम्बर महिनाको प्रतिवेदनमा सन् २०२२ को आर्थिक वृद्धि दर भने बढाएको छ । अप्रिलमा ३.९ प्रतिशत प्रक्षेपण गरेकोमा सेप्टेम्बरमा १.९ प्रतिशत बढेर ५.८ प्रतिशत पुग्ने अनुमान छ ।

नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाउँदा आन्तरिक उत्पादनमा पर्न गएको असर, संकुचित मौद्रिक नीति, विदेशी सञ्चितिमा आएको गिरावट र बढ्दै गएको महंगीले कुल ग्राहस्थ उत्पादन वृद्धिमा बाधा पु¥याएको एडीबीले जनाएको छ ।

विदेशी सञ्चितिमा आएको कमी नियन्त्रण गर्न सरकारले आयातमा रोक लगाउँदा आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने जोखिम उत्पन्न हुन सक्ने नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउकोइसले बताएका छन् । आयातमा लगाएको प्रतिबन्धका कारण स्वदेशी उत्पादन कमी आई उपभोत्तामा प्रतिकूल असर पर्न जाने र त्यसले अन्ततः आर्थिक वृद्धिमा प्रतिकूल असर पर्ने उनले बताएका छन् ।

कोभिड–१९ संक्रमण फैलिँदा विभिन्न समयमा सरकारले गरेको लकडाउन, हालै फैलिएको डेगीं ज्वरोका कारण कमजोर बनको स्वास्थ्य प्रणाली, प्राकृतिक विपद्, भूराजनीतिक तनावका कारण आन्तरिक उत्पादनमा कमी आएको उनको धारणा रहेको छ ।

यसैगरी सन् २०२२ मा ६.३ प्रतिशत रहेको वार्षिक मुद्रास्फीति दर घटेर सन् २०२३ मा ६.१ प्रतिशत हुने अनुमान एशियन डेभलपमेन्ट आउटलुक २०२२ मा सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको संकुचित मौद्रिक नीति, उत्पादनमा भएको सामान्य वृद्धि, भारतको मुद्रास्फीति दरमा आएको नियन्त्रण र इन्धनको मूल्य क्रमिक रुपमा कम हुँदै जादा सन् २०२३ मा नेपालमा मुद्रास्फीति दर नियन्त्रण हुने एडीबीले जनाएको छ ।

सन् २०२२ मा जीडिपीको ११.४० प्रतिशत रहेको चालु खाता घाटा घटेर सन् २०२३ मा जीडिपीको ८.१ प्रतिशत पुग्ने उक्त आउटलुकमा उल्लेख गरिएको छ । रेमिट्यान्स क्रमिक रुपमा बढ्दै जाँदा चालु खाता घाटा कम हुने एडीबीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।