वैदेशिक लगानी भित्र्याउन चेम्बरमा छलफल

0
Shares

नेपालको आर्थिक वृद्धिका लागि वैदेशिक लगानी र सहयोग भित्र्याउने लक्ष्यका साथ निजी व्यवसायीको संस्था नेपाल चेम्बर अफ कमर्सले बेल्जियम, नेदरल्याण्ड र लम्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापासँग आज छलफल गरेको छ ।

कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकाले चेम्बरको सुझावलाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले नेपाली उत्पादन, लगानीका अवसर तथा पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा युरोपियन युनियनका लागि समेत राजदूत थापाले युरोपियन युनियनले प्रदान गरेको एभ्रिथिङ वट आर्म (इबीए) अन्तर्गत नेपाल जस्तो अल्पविकसित मुलकबाट बिना भन्सार निर्यात गर्ने अवसरको प्रचूर फाइदा नेपालले लिनका लागि आफ्नो तर्फबाट प्रवद्र्धन कार्यमा रहने कटिबद्ध रहेको र व्यावसायिक समुदायले समेत उत्पादनदेखि निकासी बजार तहसम्म वस्तु विकास र निकासीमा जोड दिनुपर्ने बताए।

सो कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवं प्रविधि भित्र्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए। अध्यक्ष श्रेष्ठले नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रको प्रवद्र्धन गर्न आर्थिक कूटनीति सक्रिय हुनुपर्ने बताए।

चेम्बरका अनुसार सन् २०१८ मा नेदरल्याण्डसँग एक करोड ५८ लाख ५५ हजार ८२६ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ। नेदरल्याण्डबाट सन् २०१८ मा एक करोड ९७ लाख ४४ हजार २२८ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट नेदरल्याण्डमा सोही अवधिमा ३९ लाख १८ हजार ४०२ अमेरिकी डलर बराबर निर्यात भएको छ।

सोही अवधिमा बेल्जियमसँग एक करोड ८० लाख ७५ हजार ५०८ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ भने बेल्जियमबाट सो वर्ष दुई करोड सात लाख १५ हजार ८५५ अमेरिकी डलर बराबर आयात भएको छ। नेपालबाट बेल्जियममा २६ लाख ४० हजार ३४७ अमेरिकी डलर बराबर निर्यात भएको छ ।