विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले अझै तोकेन चार्जिङ स्टेशनको महसुल

0
Shares

काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन । नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनका विषयमा टुङ्गो लाग्न नसकेको हो । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरु उपभोक्ताले जतिकै महसुल बुझाउनुपरेको छ ।

पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादूर थापाले विद्युतीय बसलाई प्रोत्साहन गर्ने गरी चाँडो महसुल निर्धारण हुनुपर्ने बताए। विद्युतीय बसमा पेट्रोलियम पदार्थबाट चल्ने बसमा भन्दा सञ्चालन खर्च कम लाग्ने गर्छ।

त्यसका आधारमा प्रालिले अहिले सञ्चालनमा रहेको चार बसमा सरकारले निर्धारण गरेको भाडादर भन्दा २० प्रतिशत कम भाडा लिने गरेको छ। सरकारले महसुलमा सहुलियत दिँदा भाडादरमा अझै बढी छुट दिन सकिने उनको भनाइ छ । उनले भने “विद्युतीय बस प्रोत्साहन गर्दा एकातिर यात्रुलाई भाडा कम पर्छ भने अर्कातिर वातावरण पनि सफा बनाउँछ ।”

अहिले सुन्दर यातायातका चार विद्युतीय बस सञ्चालनमा छन् । यही वर्ष थप २५ बस ल्याउने प्रालिले तयारी गरिरहेको छ। सरकारले साझा यातायात मार्फत खरिद गर्न लागेको ३०० विद्युतीय बस अन्योलमा रहँदा निजी क्षेत्रले भने यसमा इच्छा देखाएका छन्।