लक्ष्मी बैंकको दश बर्षे ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

लक्ष्मी बैंकले गत असोज २३ गतेदेखि बिक्री खुला गरेको ‘१०% लक्ष्मी बैंक डिबेन्चर–२०८६’ मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा कुल २ अर्ब बराबरको २० लाख युनिट निष्काशन गरेको छ ।

१० वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर प्राप्त गर्ने बैंकले जनाएको छ । लगानीकर्तालाई दश वर्षसम्म वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकको भनाई छ ।

कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणमा निष्काशन हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । यसको निष्कासन बन्द कात्तिक २२ गते हुनेछ ।ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेकोे छ ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ्ग प्रदान गरेको छ । व्यवसाय विस्तारलाई बढावा दिन बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकमा यसअघि जारी गरेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहलाई अनिवार्य रुपमा चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले बैंकहरुमा लगानीयोग्य रकमको अभाव नहुने राष्ट्र बैंकको विश्वास छ ।