एक घण्टामै २० अंकले वढेको नेप्से १३ सय माथि


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार कारोबार खुल्ने वित्तीकै वढ्न थालेको थियो । कारोबार सुरु भएको करिब एक घण्टामै २० अंकले वढेको नेप्से यो समाचार तयार पार्दासम्ममा वढ्ने क्रममा कमी आइ १५ अंकले वढेको छ ।

आइतबारको दोहोरो अंकको सुधारले नेप्से एघार महिना यताकै उच्च विन्दु १३ सय भन्दा माथि गएको हो । लामो समय एघार सय विन्दु आसपासमा घुमिरहेको नेप्सेमा पछिल्लो एक महिनाको अवधिमा उच्च सुधारको गतीमा देखिएको छ । पछिल्लो डेढ महिनाको अवधिमा नेप्से दुई सय भन्दा धेरै अंकले उकालो लागेको हो ।

सेयर बजार निरन्तर वढ्न थालेपछि कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक रहेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आउने क्रम जारी रहेकाले पनि सेयर लगानीकर्तामा उत्साह देखिएको हो । सेयर बजारका लगानीकर्ता वाणिज्य बैंक सेयरमा आकर्षित भएको देखिन्छ । बैंकहरुले चालु आर्थिक वर्षको नाफावाट प्रतिफल राम्रो दिने आशामा लगानीकर्ता बाणिज्य बैंकहरुको सेयरमा आकर्षित भएका हुन ।
पछिल्ला दिनहरुमा लगानीकर्ता जीवन बीमा कम्पनीहरुतर्फ मोडिएको देखिन्छ । आइतबारको बजारमा जीवन बीमा समूहको सूचक आठ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । हालसम्ममा नेप्से परिसूचक वढ्ने क्रम संगै कारोबार रकम पनि ५३ करोड रुपैयाँ पुगिसकेको छ ।
नेपाल लाईफको शेयरमूल्य सबैभन्दा धेरै ९.६१ प्रतिशतले बढेको छ । आज धेरै शेयर मूल्य बढ्ने कम्पनीको अग्रस्थानमा बीमा कम्पनीहरु देखिएका छन् । एक घण्टा नपुग्दै नेप्सेमा २६ करोड बढीको शेयर किनबेच भईसकेको छ ।