छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

0
Shares

छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधाम सहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजा घाटलाई दुलही झैं सिङ्गारिएको छ ।

जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुर धामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएका छन् । जनकपुर धामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सिङ्गारिएका छन् ।

यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलका रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् । बजारमा छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घर–घरमा छठीमैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् ।

पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक मानिन्छ । यसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ, त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए ।

यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रूपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।

सूर्य देवतालाई पहिलो दिनको अघ्र्य अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सझुका अरख’ भनिन्छ । सूर्य देवतालाई खासगरी उक्त दिन अघ्र्य दिइने गरिन्छ, जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसैअनुरुप उदयकालमा दिइने अघ्र्यका लागि समेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अघ्र्य’ दिइन्छ ।

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रूपमा अघ्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा रहेको छ ।

हुन त सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनु अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ । छठ व्रत गर्नेहरु सबै जना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अरबा अर्बाइन’ खाने गर्दछन् ।

यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरूपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन गर्ने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने बर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चूलोमा नयाँ माटोका भाडाँमा अरबा चामलको खीर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खीर देवी–देवतालाई प्रसादका रूपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ ।

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अघ्र्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिई उभिरहेका हुन्छन् ।

साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिङ्गारा, फलफूल, पान, सुपारी, धूप, दीपलगायतले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने चलन छ ।

उक्त दिन छठ व्रत गर्नेहरूको घरका सबै सदस्य प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ, जुन कि सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टि सम्पूर्ण जीवको रक्षिका देवी हुनुहुन्छ । प्रकृतिको छैटौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी रहेको छ ।

षष्ठी देवीको पूजनको प्रचार–प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतककालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठीमाता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुन त केहीले सूर्यको माता भनेरसमेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान् राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ ।

सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरेकाले छठ पर्वको आरम्भ यसै दिनदेखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रूपमा मानिएको छ ।

अर्को मान्यताका अनुसार छठ पर्व महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परमभक्त थिए ।

उनी हरेक दिन जलमा उभिई सूर्यलाई अघ्र्य दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनहरूको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।

यसैबीच तराईमा धुमधामका साथ मनाइने महान् पर्व छठमा उपयोग गरिने वस्तुको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत सामानको मूल्य दोब्बरभन्दा बढी बढेको जनकपुरधामका स्थानीय सरोज साहले बताए ।

आज छठ व्रतः ‘सझिया घाट’ को तयारी

महोत्तरी सहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् ।

यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ । यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् ।

त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलही झैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

यसअघि गत शुक्रबार पवित्र स्नान गरी व्रत सङ्कल्प गर्दै उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबाअर्बाइन’ र ‘नहाय–खाय’ एवं हिजो शनिबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो (सख्खरमा पकाइएको खीरमात्र खाएर) ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । अब मुलुकको राजधानी सहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ गरिन थालिएको छ । केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्र प्रमुख (राष्ट्रपति) नै राजधानीको रानीपोखरी सहितका छठ घाटमा पुग्न थालेपछि यसको महत्ता अझ बढेको पाका मैथिलको भनाइ छ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडबाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।