एलआईसी प्रथम त्रैमासमा ५९ लाख नोक्सानीमा, अधिकांश सूचक ओरालो लाग्दा केही मात्र सकारात्मक

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा ५९ लाख २९ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष आवको सोही अवधिमा कम्पनीले ३ करोड १९ लाख नाफा आर्जन गरेको थियो ।

चालु आवको तीन महिनामा नाफा नोक्सान हिसाब अनुसार ८ करोड ८२ लाख आम्दानी गर्दा ९ करोड ४१ लाख खर्च गरेको छ । कम्पनीले एकीकृत आयव्यय अन्तर्गत बचत रहेको ३ अर्ब ८६ करोड ८३ लाखमध्ये जीवन बीमा कोषमा ३ अर्ब ८६ करोड ६९ लाख सारेपछि १४ लाख मात्र नाफा नोक्सान हिसाबमा सार्दा पनि कम्पनी नोक्सानीमा पुगेको हो ।

कम्पनीलाई बीमा प्राधिकरणले बीमितको सुरक्षाका लागि कोष व्यवस्थापनमा कडाई गर्दा ठूलो रकम जीवन बीमा कोषमा राखेको छ । यस्तै नोक्सानीका लागि व्यवस्थाका लागि पनि ५ करोड ५७ लाख १९ रुपैयाँ छुट्याएपछि कम्पनी घाटामा नै पुगेको हो । गत वर्ष आवको सोही अवधिमा कम्पनीले १ करोड ६ लाख १८ हजार मात्र नोक्सानीका लागि व्यवस्था गरेको थियो ।

धेरै सूचकमा घाटा ब्यहोरेको कम्पनीको पुँजी र बीमा कोष लगायतका केही सुचकहरु भने बढेका छन् । कम्पनीको पुँजी २० प्रतिशत वृद्धि भएर २ अर्ब ६५ करोड ३२ लाख पुग्दा बीमाकोषको अकार १६.९० प्रतिशत बढेर ९७ अर्ब ५० करोड ३ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड ४२ लाख रुपैयाँ सञ्चित थियो ।

कम्पनीको खुद बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १४.०४ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड ४९ लाख रुपैयाँमा झरेको छ । गत आवमा ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीले १९ अर्ब ७९ करोड २९ लाखरुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरी ४८ करोड २२ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १ अर्ब ८४ करोड ११ लाख रुपैयाँ रहँदा छ ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ७४ करोड १९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२२ रुपैयाँ ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ १३६.५७ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा ६६ करोड ८९ लाख ३ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ८.८५ प्रतिशतले घटेर ६० करोड ९७ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै महाविपत्ति कोष ३५ प्रतिशत बढेर ३६ करोड ६ लाख पुगेको छ ।

एलआइसी नेपालमा भारतीय सरकारी स्वामित्वको जीवन बीमा निगमको ५५ प्रतिशत सहित नेपालको विशाल ग्रुपकाे २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार  १४ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।