बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज, ट्रेजरीको सोझै खरिदमा नीतिगत दरको मोलमोलाइ


तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या रहेको वित्तीय प्रणाली सहज अवस्थामा देखिएको छ । राष्ट्र बैंकले बिहीबार ट्रेजरी बिल्सको सोझै खरिदका लागि आह्वान गरेको बोलमा बैंक तथा वित्तीय संस्थाको सहभागिता आएको कमीले पनि तरलता अवस्था सहज भएको स्पष्ट हुन्छ । 

राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता प्रदान गर्नका लागि २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्सको सोझै खरिद गर्न बोल आह्वान गरेको थियो । केन्द्रीय बैंकले बजारमा पठाउन खोजेको अर्थात खरिद गर्न खोजेको रकम बराबरको पनि आवेदन परेको छैन । यसभन्दा अघि केन्द्रीय बैंकले ट्रजरीको सोझै खरिद गर्न चाहेको रकम भन्दा धेरैको आवेदन पर्ने गर्दथ्यो ।

त्यतिमात्र नभै डिस्काउन्ट रेट पनि करिब ११ प्रतिशतसम्म अफर गरेका थिए । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले कर्जा नियन्त्रण गरेको अवस्था छ भने नयाँ निक्षेप पनि थपिने क्रम बढेपछि तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या सहज हुँदै आएको छ । 

बैंक वित्तीय संस्थामा तरलताको अवस्था सहज भएपछि सरकारी ट्रेजरीको बिक्री मार्फत नगद ल्याउने आवश्यकतामा कमी आएको स्पष्ट छ । तरलता समस्या जटिल भएको अवस्थामा बैंक वित्तीय संस्थाले आफुले पाएको भन्दा धेरै डिस्काउन्ट रेट राष्ट्र बैंकलाई दिएर समेत बिक्री गरेको अवस्था थियो ।

पछिल्लो समयमा बैंकहरुले ट्रेजरीको सोझै बिक्री गर्दा डिस्काउन्ट रेटमा समेत केही नाफा खोजेको देखिन्छ । राष्ट्र बैंकले भने नीतिगत दर सात प्रतिशत भन्दा तल डिस्काउन्ट रेट अफर गर्नेको ट्रजरी खरिद नगर्ने अडान लिएको छ ।

केन्द्रीय बैंकको उक्त अडानका कारण बिहीबारको ट्रेजरी बिल्सको न्यूनतम डिस्काउन्ट रेट पनि ७.५७२१ प्रतिशत रहेको छ । यो डिस्काउन्ट रेट गत कात्तिक २७ गतेको सोझै खरिदको औसत डिस्काउन्ट रेट हो । 

बिहीबार बैंकहरुले नीतिगत दर भन्दा पनि तल डिस्काउन्ट रेट अफर गरेका छन् । तर, केन्द्रीय बैंक भने नीतिगत दर भन्दा तल नजाने अडान लिदै ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र खरिद गरेको छ ।

केन्द्रीय बैंकले २० अर्बको खरिद गर्ने भने अनुसार बैंक वित्तीय संस्थाले १९ अर्ब १२ करोड रुपैयाँ बरावरको ट्रेजरी बिक्री गर्न खोजेका थिए ।

केन्द्रीय बैंकले भने ब्याजदर करिडोरको नीतिगत दरलाई स्थापित गर्न ७ प्रतिशत भन्दा तलको डिस्काउन्ट रेटमा खरिद नगरेको हो । 

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्यालाई कम गर्न ट्रेजरी बिल्स सोझै खरिद गरेर पैसा प्रवाह गर्छ । तर, उक्त खरिद प्रक्रियामा बैंकहरुले हालको नीतिगत दर (सात प्रतिशत) भन्दा तल डिस्काउन्ट रेट माग गरेपछि केन्द्रीय बैंकले चाहेको भन्दा थोरै खरिद गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । 

केन्द्रीय बैंकले नीतिगत दर भन्दा माथिको रेटमा बिक्री गर्न चाहेको मात्र खरिद गरेको हो । बिहीबार आएको आवेदन मध्ये केन्द्रीय बैंकले सात प्रतिशत भन्दा तल डिस्काउन्ट रेट माग गर्ने ट्रेजरी खरिद नगरेको हो ।बिहीबार राष्ट्रले सोझै ट्रेजरी खरिदको आह्वान गर्दा बैंकहरुले धेरैमा ८.८६६५ प्रतिशत डिस्काउन्ट रेटमा बिक्री गर्न खोजका छन् भने न्यूनतम ७.५७२१ प्रतिशत बोल गरेका छन् । 

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले २०७९ चैत मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरिद गरेको हो । सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर यिल्ड रेट गणना गरी सबैभन्दा बढी प्रतिफल दर बोल गर्ने बैंक/वित्तीय संस्थालाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम क्रमश बाँडफाँड गरेको केन्द्रीय बैंकले जनाएको छ । तर समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकम भन्दा बढी भएको सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँड भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।