नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले अटोमोबाइल व्यवसायसँग सम्बन्धित विषयहरूमा एक पछि अर्को व्यवसाय अमैत्री नीति नियमहरू लागू गरेको भन्दै चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको छ ।
आयात प्रतिबन्ध‚ ब्याजदर वृद्धि‚ कर्जा सीमा‚ जोखिम भारमा वृद्धि‚ प्रतीतपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरूमा गरिएको कडाइका कारण अटोमोबाइल व्यवसायीहरू पूर्णत: धराशायी हुने अवस्थामा पुगेका भन्दै एशोसिएसनले सप्ताहव्यापी दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।
चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अनुसार शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना कार्यक्रमहरू मिडिया समक्ष जानकारी गरेर मिडियाको सहयोग लिएको छ । यस्तै संघले तय गरेको नाराहरू सबै व्यावसायीले आफूहरू चढ्ने गाडीमा अगाडि पछाडि टाँसेर हिँड्ने‚ फेसबुक‚ इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने‚ ब्यानर बनाएर आफ्नो सोरुममा टाँस्ने भएको छ ।

यस्तै अन्य कार्यक्रमहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरू‚ नेपाल उद्योग परिसंघ‚ नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्र मार्फत सहयोग माग्ने भएको छ ।
मंसिर २२ गते बिहीबार सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाई‚ प्लेकार्ड बोकी बिहान ११ देखि २ बजेसम्म काठमाडौंको माइतिघर मण्डलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने कार्यक्रम सार्वजनिक गरेको छ । सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यहरूलाई एकै पटक परिचालन गर्ने तयारी एशोसिएसनको छ ।
मङ्सिर २२ गते बिहीबारसम्म पनि माग सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम समापन गरी दोस्रो चरणमा थप सशक्त कार्यक्रम गर्ने जनाएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया