निर्जीवन बीमा व्यवसायका लागि अझैपनि सरकारकै भर

0
Shares

निर्जीवन बीमा व्यवसायका लागि अझै पनि निर्जीवन बीमा कम्पनीहरु सरकार कै भर पर्ने गरेका छन् । सरकारले अनिवार्य गरेको व्यवसाय बाहेक अन्य व्यवसायमा कम्पनीहरुले अझै पनि फड्को मार्न सकेका छैनन् ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को गत कार्तिक महिनासम्मको विवरण अनुसार कम्पनीहरुले गरेको कुल निर्जीवन बीमा व्यवसायका ३३ प्रतिशत हिस्सा मोटर बीमा व्यवसायको छ । कम्पनीहरुले गरेको अन्य निर्जीवन बीमा व्यवसाय भन्दा मोटर बीमा व्यवसायको हिस्सा सबैभन्दा बढी छ ।

नेपाल सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । सडक दुर्घटना हुँदा पीडकले पीडितलाई क्षतिपूर्ति भुक्तानी गर्न नसक्दा सडक अवरुद्ध भै यातायात नै ठप्प हुन थाले पनि सरकारले मोटर बीमालाई अनिवार्य गरेको हो । तत्कालिन बीमा समितिले मोटर बीमाको तेस्रो पक्षलाई अनिवार्य गरेको हो । मोटर खरिद गर्दा र मोटर नवीकरण गर्दा अनिवार्य रुपमा मोटर बीमा गर्नुपर्ने प्रावधान छ ।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा कम्पनीहरुले १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको निर्जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको मोटर बीमा गरेका छन् । मोटर बीमापछि कम्पनीहरुले गरेको व्यवसायको अधिक हिस्सा सम्पति बीमाको छ । समीक्षा अवधिमा कम्पनीहरुले २ अर्ब ८७ करोड रुपैयाँ बराबरको सम्पति बीमा गरेका छन् । सम्पति बीमालाई पनि सरकारले अनिवार्य गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर खरिद गर्दा अनिवार्य रुपमा कर्जाको बीमा हुनुपर्ने वित्तीय संस्थाको प्रावधान छ । फलस्वरुप कम्पनीहरुले गरेको व्यवसायमध्ये सम्पति बीमाको हिस्सा अधिक देखिएको हो ।

त्यस्तै, कम्पनीहरुले २ अर्ब २१ करोड रुपैयाँ बराबरको इन्जिनियरिङ्ग बीमा व्यवसाय गरेको छ । यो व्यवसायको हिस्सा कुल व्यवसायको १६ प्रतिशत छ । पछिल्लो समयमा प्राधिकरणले इन्जिनियरिङ्ग बीमालाई पनि अनिवार्य गरेको छ । कुनै पनि परियोजना शुरु गर्नु अघि ठेकेदार कम्पनीले अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै, कम्पनीहरुले ७५ करोड ६० लाख रुपैयाँ बराबरको सामुन्द्रिक बीमा गरेका छन् भने ६६ करोड १७ लाख रुपैयाँ बराबरको हवाई बीमा गरेका छन् । त्यस्तै, दुई करोड ६३ लाख रुपैयाँ बराबरको लघुबीमा गरेका छन् भने कृषि बीमा बापत ६९ करोड ९८ लाख रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले नौ लाख १९ हजार १३८ वटा निर्जीवन बीमा पोलिसी जारी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।