गाउँ पसेनन् जीवन बीमा कम्पनी, कात्तिकमा सवा १० अर्बको मात्रै व्यवसाय

0
Shares

नेपाल सरकारले नेपालमा बीमा पहुँच विस्तार हुन सकेन भन्दै धमाधम नयाँ कम्पनीहरुलाई सञ्चालन अनुमति दिए पनि बीमा कम्पनीहरु भने अझै पनि गाउँ पसेका छैनन् । कम्पनीहरु आफुलाई सहज र सुविधा हुने क्षेत्रमा मात्रै व्यवसायको लागि बढी केन्द्रित भएको देखिन्छ।

नेपाल बीमा प्राधिकरणको चालु आर्थिक बर्ष २०७९/८० को कात्तिक महिनासम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ४६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट मात्रै १९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो रकम कुल जम्मा भएको बीमाशुल्क रकमको ४२ प्रतिशत हो । यसले कम्पनीहरु अझै पनि शहरमुखी भएको स्पष्ट पार्छ।

कर्णाली प्रदेशबाट भने कम्पनीहरुले दुई अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो रकम भनेको कम्पनीहरुले जम्मा गरेको रकमको ४ प्रतिशत हो । त्यस्तै, सुदुरपश्चिम प्रदेशबाट कम्पनीहरुले दुई अर्ब ४३ करोड रुपैयाँ जम्मा गरेका छन् । यो रकम कम्पनीहरुले संकलन गरेको रकमको ५ प्रतिशत हो ।

प्रदेश नम्बर एकबाट कम्पनीहरुले पाँच अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम कुल आर्जन बीमाशुल्कको १२ प्रतिशत हो । प्रदेश नम्बर दुईबाट भने कम्पनीहरुले चार अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम कुल बीमाशुल्क रकमको ९.५ प्रतिशत हो ।

गण्डकी प्रदेशबाट कम्पनीहरुले चार आर्ब ८६ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम कुल बीमाशुल्कको १० प्रतिशत हो । लुम्बिनी प्रदेशबाट कम्पनीहरुले ६ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम भनेको कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १४ प्रतिशत हो ।

चालु आर्थिक बर्षको कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत नौ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नविकरणीय बीमाशुल्क बापत भने कम्पनीहरुले ३६ अर्ब ८९ करोड रुप्रैयाँ आर्जन गरेका छन् । कात्तिक महिनामा मात्रै भने कम्पनीहरुले १० अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १० लाख ६७ हजार ८५८ वटा बीमा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, कार्तिक महिनामा मात्रै कम्पनीहरुले ७७ हजार ४७ वटा वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गरेका छन् । सो पोलिसी बराबर कम्पनीहरुले ३२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आवको कार्तिक महिनासम्ममा भने १२ लाख १२ हजार ४६२ वटा वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी सक्रिय रहेको प्राधिकरणको तथ्यांक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।