आगामी एक वर्ष भित्रमा बीमा सर्भेयरहरुले आफुले सर्भे गर्ने क्षेत्र छनौट गर्नुपर्ने भएको छ । नयाँ बीमा ऐन २०७९ बमोजिम नेपाल बीमा प्राधिकरणले पुराना सर्भेयरहरुलाई २०८० साल कार्तिक २१ गतेसम्ममा आफुले सर्भे गर्न चाहेको एउटा मात्रै क्षेत्र छनोट गर्न निर्देशन दिएको छ।
प्राधिकरणले नयाँ सर्भेयरको हकमा भने लाईसेन्स दिने बखतमा नै सर्भेयरलाई आफनो विषयको आधारमा सर्भे गर्ने क्षेत्र छनौट गर्न अनिवार्य गरेको छ । नेपालमा यस अघिको व्यवस्था अनुसार बीमा प्राधिकरणबाट सर्भेयरको लाइसेन्स लिएका सर्भेयर कुनै पनि घटनाको सर्भे गर्न पाउने व्यवस्था थियो । जसका कारण एउटै सर्भेयरले मोटर दुर्घटना, सम्पति दुर्घटना, आगलागी दुर्घटना लगायत सबै खालको सर्भे गर्दै आएका थिए ।
तर, सर्भेयरले एउटै विषयमा मात्रै अध्ययन गरेको हुनाले इन्जिनियरिङ बीमाको सर्भे गर्ने सर्भेयरले आगलागी दुर्घटनाको सर्भे गर्न नसक्ने प्राधिकरणको बुझाई छ । तसर्थ बीमा सर्भेलाई अझै व्यवस्थित बनाउन सर्भेयरको विशेषज्ञता अनुसारको क्षेत्रमा काम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । हालसम्म १३०० जनाले सर्भेयरको लाईसेन्स लिएको प्राधिकरणको तथ्याङ्क छ ।
सर्भेयर भनेको को हो ?
बीमा ऐनले बीमा सर्भेयर सम्बन्धी व्यवस्था गरेको छ । ऐनले क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्याङ्कन गर्ने इजाजत प्राप्त व्यक्तिलाई बीमा सर्भेयरका रूपमा परिभाषित गरेको छ । सोही शब्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने व्यक्तिलाई समेत बुझाउने ऐनमा उल्लेख छ । 
नेपालमा व्यक्तिगत र संस्थागत रूपमा काम गर्ने सर्भेयरहरू छन् । यसरी सर्भे गरे बापत केही कम्पनीहरूले मासिक रूपमा पारिश्रमिक लिन्छन् भने कोही सर्भेयरले भने घटना अनुसार पनि दाबी लिने गरेका छन् ।
सर्भेयर संघ र बिमक संघको सहमतिमा सर्भेयरको पारिश्रमिक तोकिएको छ । मूल्यांकन गर्दा आउने दाबी रकमको आधारमा पारिश्रमिक तोकिएको छ । दाबी नपरेको अवस्थामा कम्तीमा पनि कम्पनीले सर्भेयरलाई पाँच हजार रूपैयाँ पारिश्रमिक भुक्तानी गर्नुपर्ने प्रावधान रहेको बीमा सर्भेयर संघले जनाएको छ । घटनाको आधारमा एउटा सर्भेयरले कम्तीमा पनि मासिक २५ हजारदेखि लाखांै रूपैयाँसम्म शुल्क लिने गरेका छन् ।
सर्भेयर बन्नका लागि आवश्यक योग्यता
बीमा विनियमावली अनुसार कुनै बिमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा दश वर्षसम्म बीमा व्यवसाय सम्बन्धित कार्यको अनुभव हासिल गरेको, इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यताप्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको व्यक्तिले सर्भेयर लाइसेन्सका लागि समितिमा निवेदन दिन सक्छ ।
योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । सर्भेयरले प्रत्येक वर्ष आफनो लाइसेन्स नवीकरण गर्नुपर्छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया