शोधनान्तर स्थिति थप ८ अर्बले सकारात्मक


चालु आर्थिक वर्षको कात्तिक महिनामा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले सकारात्मक रहेको छ । यो गत असोज महिनाको तुलनामा ८ अर्बले बढेको हो । असोजमा देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड सकारात्मक रहेको थियो । 

विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थालेपछि सकारले गत बैशाख देखि केही वस्तुहरूको आयातमा प्रतिबन्ध गरेको थियो । त्यसका साथै राष्ट्र बैंकले ब्याजदर बढाउने र कर्जा लगानीमा नियन्त्रण गरेसंगै त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा देखिएको हो । 

चालु आवको कात्तिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २२० अर्ब ९१ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता चालु आवको कात्तिकमा २८ करोडले घाटामा रहेको छ ।

चालु आवको चार महिनामा पुँजीगत ट्रान्सफर १८।१ प्रतिशतले वृद्धि भई २ अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । गत आवमा सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड प्राप्त भएको थियो ।

चालु आवको पहिलो चार महिनामा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आवको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।