बीमा व्यवसायमा डिजिटिलाइजेसनलाई जोड दिन अध्यक्ष सिलवालको आग्रह

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा व्यवसायमा डिजिटिलाइजेसनलाई जोड दिन आग्रह गरेका छन् । सोमबार सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकीकृत काराबोर शुरु गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले अबको समयमा डिजिटल माध्यमलाई आत्मसाथ गरी अगाडी बढ्नुपर्ने बताएका हुन् ।

अध्यक्ष सिलवालले अबको समयमा भौतिक माध्यमबाट मात्रै व्यवसाय गरेर नहुने बताए । सहज र सरल व्यवसाय सञ्चालनका लागि प्रविधिलाई अनिवार्य रुपमा अंगाल्नुपर्ने बताए । त्यस्तै, अध्यक्ष सिलवालले सूर्याज्योति मर्जर गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी भएको बताए । सूर्याज्योतिले उदाहरणीय काम गरेको समेत उनले बताए । “तपाईहरु अरु कम्पनीको लागि उदाहरण हो । तपाईहरुले मर्जरु प्रक्रिया सम्पन्न गरेर अरुलाई पनि मर्जरको लागि प्रेरित गर्नुभएको छ,” उनले भने।

अध्यक्ष सिलवालले जीवन बीमा कम्पनीको मर्जर आफैमा कठिन कार्य भएको समेत व्याख्या गरे । तर, कम्पनीहरुको रोजाइ अनुसार पुँजी वृद्धिको लागि मर्जरको विकल्प नहरेको समेत उनले बताए । “जति ढिलो गर्नुहुन्छ । त्यति नै कम्पनीलाई घाटा हुन्छ,” उनले भने । त्यसैले अन्य कम्पनीहरुलाई पनि जतिसक्दा छिटो मर्जरको प्रक्रिया अगाडी बढाउन उनले आग्रह गरे ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले गत विहिबार देखी औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेका हुन् । नेपालका बीमा क्षेत्रमा यो तेस्रो सफल मर्जर हो । तर, जीवन बीमा कम्पनीको हकमा पहिलो मर्जर हो । मर्जर पछि कम्पनीको नाम सूर्याज्योति राखिएको छ ।

यसअघि हिमालयन इन्स्योरेन्स र एभरेष्ट्र इन्स्योरेन्सको मर्जर भएको थियो । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी बिच पनि मर्जर भै एकीकृत कारोबार शुरु भै सकेको छ ।

मर्जर पछि सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी चार अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमासिकको आधारमा कम्पनीको कम्पनीको लगानी २८ अर्ब रुपैयाँ पुग्ने भएको छ । कम्पनीको जीवन बीमा कोषा २२ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको बीमाशुल्क आर्जन दुई अर्ब २७ करोड पुगेको छ भने नाफा ४२ करोड हुने भएको छ ।

कम्पनीको कर्मचारी ६७५ पुगेका छन् । १३ लाख भन्द बढी पोलिसी होल्डर हुने भएका छन् । ७५ हजार अभिकर्ता हुनेछन् । १८१ वटा शाखा कार्यलय र १५ वटा प्रोडक्ट हुनेछन् । मर्जर पछि बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको प्रमुख कार्यालय ज्ञानेश्वरमा रहने भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।