दुई वाणिज्य बैंक सहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नेपाल बैंक, प्राइम कमर्सियल बैंक , मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ( एचआईडिसीएल) को लाभांश पाउन बुधबारसम्म सेयरधनी बन्नैपर्छ ।
नेप्सेमा सूचीकृत ७ कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बिहीबार बुकक्लोज गर्दैछन् । बुधबार बुकक्लोज रहेका अन्य तीन कम्पनीहरु दिब्यश्वरी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, र युनियन हाइड्रोपावरले भने लाभांश वितरणको प्रस्ताव गरेका छैनन ।
लाभांश प्रस्ताव गरेका चार कम्पनीहरुको लाभांश पुस १३ गते बुधबारसम्म कायम रहने सेयरधनीले मात्र पाउनेछन् । बिहीबारदेखि सेयर खरिद गर्ने लगानीकर्ताहरु भने लाभांश पाउन र ती कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन अयोग्य हुनेछ ।
कसले कति बाँड्दैछन् लाभांश ?
नेपाल बैंक लिमिटेडले चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बैंकले पुस २९ गते बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा बिहान ११ बजे ६३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडले चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बैंकले पुस २८ गते कार्की ब्याङ्कवेट बबरमहल काठमाडौँमा बिहान ११ बजे पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ ।
उता मितेरी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १२.३५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । लाभांश पारित गर्न बैंकले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ धरान सुनसरीमा बिहान ११ बजे बैंकको १७ औं वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै एचआईडिसीएलले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते मंगलबार अर्पण ब्याङ्कवेट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान १० बजे एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया