पुस १५ गते देखि दर्ता नभएका मोवाइल चल्ने छैनन्, कसरी गर्ने आईएमइआई नम्बर दर्ता ?

0
Shares

नेपाल दुरसञ्चार प्राधिकरणले भोलि (पुस १५) गते देखि अवैधानिक रुपमा नेपाल भित्राएका मोवाइल नचल्ने जनाएको छ। प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएपछि चोरी गरेर वा लुकाएर ल्याएका मोवाइल नचल्ने भएका हुन् ।

त्यस्तै, विदेशबाट आउने व्यक्तिले आफनो व्यक्तिगत प्रयोजनको लागि ल्याएको मोबाइलको समेत भन्सार घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले अवैधानिक रुपमा मुलुकमा ठूला रकमको मोवाइल भित्रने थाले पछि यो सिस्टम कार्यान्वयनमा ल्याएको हो ।

प्राधिकरणले २०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट तथा सञ्चालनमा रहेका सबै मोवाईल सेट स्वत प्रणालीमा दर्ता हुने व्यवस्था हुने बताएको छ । तर, असोज देखि भने अनौपचारिक माध्यमबाट ल्याईएका मोवाईल नेपालमा चल्ने छैनन् । यदि कसैले व्यक्तिगत रुपमा विदेशबाट मोबाईल ल्याईएका छन् भने आफैले प्रणालीमा दर्ता गर्न सक्ने प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले बताएका छन् ।

एमडिएमएस प्रणाली लागू भए पछि मोबाईल आयातकर्ताले नेपाल भित्राउने सबै मोबाईल आफैले प्रणालीमा दर्ता गरी ल्याउनु पर्नेछ । त्यसैगरी कसैले विदेशबाट नेपाल आउँदा साथमा ल्याएका मोवाईल भने आफैले प्रणालीमा दर्ता गर्न सक्नेछन्।

त्यस्तै, यो सिस्टम सञ्चालनमा आएसँगै मोबाइल आयातकर्ताले पनि प्राधिकरणसँग अनुमति लिएर र आईएमइआई नम्बर दर्ता गरेर मात्रै मोबाइल आयात गर्नुपर्नेछ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भनेको के हो ?

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भनेको नेपाल दुरसञ्चार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यो प्रणालीले अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा सिमको अनाधिकृत प्रयोगलाई कानुनी दायरमा ल्याउने काम गर्छ ।

दुरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाका अनुसार मोबाईल सेटको गैरकानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहीत गर्न यो सिस्टम लागू गरिएको हो । यसले मोवाइल आयातलाई व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ्ग/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्नेछ ।

विदेशबाट ल्याएका मोबाईल आफैले एमडिएमएसमा कसरी दर्ता गर्ने ?

कुनै व्यक्तिले विदेशबाट आउदा साथमा ल्याएको मोबाईल आफैले एमडिएमएस प्रणालीमा दर्ता गर्न सक्नेछन् । यसका लागी सबैभन्दा पहिला प्राधिकरणको एमडिएमएस वेवसाईटमा जानुपर्नेछ । यसमा चारवटा चरण छन् । www.mdms.nta.gov.np वेवसाईटमा जानुपर्छ । वेवसाईट सबैभन्दा तल व्यक्तिगत दर्ता भन्ने बटम राखिएको छ । त्यसमा प्रवेश गर्ने ।

पहिलो चरणमा मोवाईलको आईएमईआई नम्बर, मोवाईलको ब्राण्ड, मोडल र मोवाईल पहिला प्रयोग भए नभएको विवरण भर्नुपर्नेछ । सो विवरण भरी सकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्न सकिन्छ । दोस्रो चरणमा इमेल राख्नुपर्छ । इमेल राखी सकेपछि त्यसमा ओटिपि नम्बर आउँछ । त्यो ओटिपि नम्बर राखेपछि तेस्रो चरणमा पुगिन्छ ।

तेस्रो चरणमा विदेशबाट आउँदाको विवरण (कुन मुलुकबाट आएको हो र मिति) भर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण राख्नुपर्नेछ । जसमा व्यक्तिको नाम, राष्ट्रियता, मोबाईल नम्बर र पासपोर्ट राख्नुपर्नेछ । राष्ट्रियतामा नेपाली र विदेशी हो भने फरक फरक फर्म भर्नुपर्नेछ।

राष्ट्रियता नेपाली हो भने त्यसमा दुईवटा विकल्प हुन्छन् । यदि हवाई मार्गबाट नेपाल आउनु भएको हो भने पासपोर्टको पहिलो पेज, अध्यागमनले छाप लगाएको पुरा पेज र मोवाईल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ । तर, सडक अर्थात् भारतबाट नेपाल प्रवेश गर्नु भएको हो भने नागरिकता वा पासपोर्ट, भन्सारले प्रमाणित गरिदिएको पत्र र मोवाईल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ।

यदि विदेशी नागरिकको हकमा पासपोर्ट, भिसा अपलोड गर्नुपर्नेछ । विदेशीको हकमा भिसा अवधि भर मात्रै मोबाईल नम्बर नेपालमा प्रयोग गर्न सकिनेछ ।

आईएमइआई नम्बर भनेको के हो ?

सिम प्रयोग हुने उपकरणमा १५ अंकको आईएमईआई नम्बर हुन्छ । त्यस्तो उपकरणहरुको आईएमईआई एक अर्कासँग मेल खाँदैन । आईएमईआई नम्बरमा उक्त उपकरणको परिचय प्रदान गर्ने गुण हो । आफनो मोबाईलको किप्याडमा गई *#06# डायल गरेपछि उक्त उपकरणको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ ।

प्राधिकरणले प्रयोगमा ल्याएको एमडिएमएस प्रणालीमा कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ । यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ । करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ ।

यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ । जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ । ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्ड सेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन् । त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा संकास्पद नम्बरहरु ग्रे लिस्टमा रहनेछन्।

सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ । हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।