प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरिने सर्वदलीय बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने निर्णय गरेको हो ।
पहिलो बैठकमा प्रतिनिधि सभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ ।
यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसूचीलाई पनि पुरानै नियमावली अनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्थाअनुसार आगामी माघ ७ गतेका लागि सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा गरिएको प्रस्ताव अनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन हुनेछ । ज्येष्ठ सदस्य राणाले आयोजना गरेको बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका मुख्य सचेतक लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, जसपा नेपालका नेता प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालालगायतको सहभागिता थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया