हुलास अटोक्राफ्टको घट्यो कारोबार, आम्दानीमा १५ प्रतिशतको गिरावट

0
Shares

गोल्छा ग्रुपको हुलास अटोक्राफ्टको कारोबार सन् २०२२ मा १५ प्रतिशतले घटेको छ ।

सन् २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हुलास अटोक्राफ्टको आम्दानी घटेर सन् २०२२ मा १० अर्ब ७४ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

सन् २०१३ मा स्थापना भएको हुलास अटो क्राफ्टले बजाज कम्पनीका दुई तथा तीन पाङ्ग्रे सावरी साधनहरुको एसेम्बल गर्छ । यसरी एसेम्बल भएका मोटरसाइकल तथा स्कुटरहरुलाई कम्पनीले आफ्नै भगिनी संस्था हंसराज हुलास चन्द एन्ड कम्पनीबाट बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको प्रमोटर गोल्छा ग्रुप रहेका कारण कम्पनीलाई वित्तीय तथा प्राविधिक सहयोग मिलेको छ । कम्पनीमा नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत लगानी रहेको छ । शेखर गोल्छा कम्पनीका निर्देशक रहेका छन् ।

नेपालमा मुद्रास्फीति बढ्दै गएका कारण दुई पाङ्ग्रे सावारी साधनहरुको मागमा कमी आएको छ । सवारी साधनको मागमा आएको कमी, अरु अटोमेकर कम्पनीहरु (यमाहा, होन्डा) को बढ्दो लोकप्रियता र प्रतिस्पर्धाका कारण पनि कम्पनीको आम्दानीमा गिरावट आएको छ ।

कम्पनीले ३ अर्ब ६३ करोड ८८ लाख बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए–३ रेटिङ गरेको छ ।

कम्पनीको आम्दानीमा आएको गिरावट कारण वित्तीय सूचाङ्कहरु कमजोर देखिएका छन् । जसकारण कम्पनीलाई इक्रा नेपालले ‘वाच वीथ नेगेटिभ इम्प्लिीकेशन’ को सूचीमा वर्गीकरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।