पर्यटक आगमनमा वृद्धि भएसँगै चन्द्रागिरी हिल्सको आम्दानीमा उछाल

0
Shares

कोभिड महामारीका कारण खुम्चिएको चन्द्रागिरी हिल्सको आम्दानी पर्यटक आगमनमा वृद्धि भएसँगै आकर्षक रुपमा बढेको छ ।

सन् २०२१ मा २२ करोड २० लाख रहेको आम्दानी २०२ प्रतिशतले बढेर सन् २०२२ मा ६७ करोड १० लाख पुगेको छ । कम्पनीको डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा कुल आम्दानीको ५७ प्रतिशत रहेको छ ।

सन् २००९ मा स्थापना भएको चन्द्रागिरी हिल्सले थानकोटको चन्द्रागिरीमा एकीकृत पर्यटक कम्पलेब्स सञ्चालन गरिरहेको छ । १०० वटा कोठाको बुटिक रिर्सोट, केवलकार, जीपलाइन र अन्य मनोरञ्जनात्मक गतिविधिहरु सञ्चालन गरिरहेको छ।

कम्पनीका प्रमोटर १५ व्यवसायी रहेका छन् । जसअन्तर्गत चन्द्र प्रसाद ढकाल र हेमराज ढकालको सेयर हिस्सा १९.१९ प्रतिशत रहेको छ । कोभिड पछि वित्तीय अवस्थामा आएको सुधार, अनुभवी तथा वित्तीय रपले सबल प्रमोटर र आम्दानीका स्रोतमा भएको विविधिकरणले कम्पनीको वित्तीय छवि बलियो सावित गरेको छ।

तथापि पर्यटन उद्योगमा बढ्दै गएको प्रतिस्पर्धा, आर्थिक गतिविधिमा आएको कमी लगायतका विभिन्न बाह्य तथा आन्तरिक गतिविधिहरुबाट कम्पनीको आम्दानीमा कमी आउने देखिन्छ ।

कम्पनीले २ अर्ब ३६ करोड ३८ लाख दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

यस अघि रेटिङ एजेन्सीले २ अर्ब ५० करोड ८० लाख बराबरको दीर्घकालनि तथा अल्पकालीन कर्जाका लागि डबल बी र ए४ रेटिङ गरेको थियो । तर कम्पनीको आमदानीमा भएको वृद्धिका कारण वित्तयि सूचांकहरु बलियो देखिएपछि इक्रा नेपालले रेटिङ वृद्धि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।