बैंकिङ क्षेत्रको ब्याजदर घट्ने निश्चित, ट्रेजरीको डिस्काउन्ट रेट एकल अंकतर्फ

0
Shares

बैंकहरुले पुस महिनामा ब्याजदर नघटाउने सहमती गरेको भएपनि माघ महिनामा सोही अवस्था नरहने देखिएको छ । सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा आएको गिरवाटले समेत ब्याजदर घटाउन दबाब दिएको हो ।

बैंकहरुले पुस मसान्तसम्ममा राजस्व तथा पुनरकर्जा भुक्तानी गर्नुपर्ने भएकाले तरलतामा दबाब पर्न सक्ने भन्दै ब्याजदर नघटाउने भद्र सहमती गरेका थिए । तर, बैंकहरुले अनुमान गरेअनुसार तरलतामा दबाब नपरेपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्दो क्रममा देखिएको हो । ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा आउने उतार चढाबले बैंकिङ प्रणालीको ब्याजदर र तरलताको अवस्थालाई समेत देखाँउछ ।

वित्तीय प्रणालीमा निक्षेप थपिएको र उच्च ब्याजदरका कारण कर्जाको माग नभएपछि बैंकहरुको लगानी विस्तार गर्न नसकेको अवस्था छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा तरलता सहज अवस्थामा पुगेको छ । बैंक वित्तीय संस्थासंग अधिक तरलता भएपछि थोरै रिटर्नका लागि डिस्काउन्ट रेट घटेर भएपनि अल्पकालिन औजारहरुमा लगानी गर्नु उपयुक्त उपाय हो । सोही अनुसार बैंक वित्तीय संस्थाले सरकारी ट्रेजरीमा लगानी बढाउन थालेका छन् ।

सरकारले उठाएको १६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण भूक्तानी नगर्ने भएपछि सोमबार तीन प्रकारका ट्रेजरी बिल्स नविकरण गरेको छ । सरकारले २८ दिने २ अर्ब बरावरको ,९१ दिने ८ अर्ब र १८२ दिने ६ अर्ब रुपैयाँ बरवारको ट्रेजरी बिल्स नविकरण गरेको हो ।

सोमबार बोल भएको २ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरीका लागि बैंकहरुले १२ अर्ब ८९ करोड रुपैयाँ बराबरको माग गरेका थिए । यसका लागि बैंकहरुले अधिक डिस्काउन्ट रेट ८.३९९९ प्रतिशत र न्यूनतम ७.५२४८ प्रतिशत माग गरेका छन् । सो ट्रेजरीको औसत डिस्काउन्ट रेट ७.९३३९ प्रतिशत कायम भएको छ।

त्यसैगरी सोमबार बोल भएको ८ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरीमा बैंक वित्तीय संस्थाले १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको माग गरेका छन् । यसका लागि बैंक वित्तीय संस्थाले अधिकत ११.९००२ र न्यूनतम ८.४९०१ प्रतिशत डिस्काउन्ट रेट माग गरेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सोमबारको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट १०.६०१७ प्रतिशत कायम भएको छ ।

सोमबार निष्कासन भएको १८२ दिने ६ अर्ब रुपैयाँ बरावरको ट्रेजरीका लागि १० अर्ब ४० करोडको माग आवेदन परेको छ । बैंक वित्तीय संस्थाले सो ट्रेजरीका लागि अधिकतम ११.९१०० र न्यूनतम ९.७५०० प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन । सो अनुसार १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.००७९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । यो औसत डिस्काउन्ट रेट यसअघिको भन्दा थोरै हो ।

यसभन्दा अघि पुस १९ गते निष्कासन भएको २९ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.१८५२ प्रतिशत रहेको थियो । त्यसैगरी ९१ दिनेको पुस १२ गतेको औसत डिस्काउन्ट रेट ११.४१९८ प्रतिशत थियो भने १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.६५६० प्रतिशत कायम भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।