काठमाडौँ । गत वर्षको असोज महिनामा आएको भिषण बाढीका कारण भएको क्षतिबापत १२ अर्ब रुपैयाँको बिमा दाबी परेकामा करिब ५ अर्ब रुपैयाँ मात्र भुक्तानी भएको छ ।
बिमा प्राधिकरणका अनुसार जेठ २८ गतेसम्ममा निर्जीवन बिमा कम्पनीहरूमा १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँको बिमा दाबी परेकामा ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको हो । प्राधिकरणका अनुसार १८ कम्पनीले उक्त रकम भुक्तानी गरेका छन् ।
अझै पनि निर्जीवन बिमा कम्पनीहरूले बाढीबाट क्षति पुगेको सम्पत्ति वा वस्तुको ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
सो अवधिसम्म कुल ३ हजार ५६ वटा दाबी संख्याबापतको रकम भुक्तानी भएको छ भने ६९६ वटा दाबीबापतको रकम भुक्तानी हुन बाँकी छ ।
कुन कम्पनीले कति दिए भुक्तानी ?
बिमा प्राधिकरणका अनुसार जेठ २८ गतेसम्ममा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६७ लाख रुपैयाँ बराबर दाबी भुक्तानी दिएको छ । कम्पनीले ४२८ वटा दाबीमा सो बराबरको भुक्तानी दिएको हो ।
अझै पनि कम्पनीले ८६ वटा दाबीमा ८० करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सले ४५८ वटा दाबीमा ५६ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अझै ४९ वटा दाबी बराबर ५५ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि ३५७ वटा दाबी संख्याको ५१ करोड ६९ लाख रुपैयाँ भुक्तानी दिएको छ भने ८९ वटा दाबीको ५७ करोड ७३ लाख रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी छ ।
यस्तै, युनाइटेड अजोडले २३५ वटा दाबीमा ४२ करोड २६ लाख रुपैयाँ भुक्तानी दिएको छ भने ९९ वटा दाबीको २७ करोड ६ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
त्यसैगरी, सानिमा जिआइसीले १६५ वटा दाबीको २४ करोड २३ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ । दि ओरिएन्टलले १७० वटा दाबीको १८ करोड ४९ लाख रुपैयाँ, नेसनलले ८१ वटा दाबीको ११ करोड ७० लाख रुपैयाँ, एनएलजीले १६७ वटा दाबीको ३१ करोड ४२ लाख रुपैयाँ, हिमालयन एभरेस्टले १९८ वटा दाबीको ४१ करोड ७१ लाख रुपैयाँ, नेकोले २७० वटा दाबीको ४८ करोड २२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले २७४ वटा दाबीको ३९ करोड ८ लाख रुपैयाँ, नेपाल इन्सोरेन्सले १४८ वटा दाबीको १३ करोड ८३ लाख रुपैयाँ, प्रभुले ७८ वटा दाबीको ६ करोड ८९ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
यस्तै, राष्ट्रिय बिमाले ६ वटा दाबीको ५५ लाख रुपैयाँ, स्टार माइक्रोले ८ वटा दाबीको २२ लाख रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको ५ लाख रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको २ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् ।










प्रतिक्रिया