कम्पनीको नाम र सीईओमा सहमति नजुटेपछि तोडियो प्रभु र अजोडको मर्जर, युनाइटेड र अजोडबीच सहमति

0
Shares

प्रभु इन्स्योरेन्ससँग मर्जर सहमति तोडेको अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्यारेन्स कम्पनीसँग मर्जरको लागि सहमति गरेको छ । मंगलबार प्रभु र अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणमा पुगेर सहमतिमा नै मर्जर तोडेका थिए ।

प्रभुसँग सहमति तोडेपछि अजोड इन्स्योरेन्सले युनाईटेड इन्स्योरेन्ससँग बुधबार मर्जर सहमति गरेको छ । युनाईटेडको बुधबार सम्पन्न साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको हो ।

अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले मर्जरको लागि प्राधिकरणबाट गत भदौ १ गत नै सहमति पाएका थिए । कम्पनीहरुले फागुन अन्तिमदेखि एकीकृत कारोबार गर्ने गरी प्राधिकरणमा योजनामा समेत बुझाएका थिए । तर, मंगलबार दुबै कम्पनी प्राधिकरणमा पुगेर मर्जर सहमति तोडेका थिए ।

मर्जरपछि प्रमुख कार्यकारी अधिकृत र कम्पनीको नामको विषयमा सहमति जुट्न नसकेको स्रोतको भनाई छ । स्रोतका अनुसार मर्जरपछि कम्पनीको नाम प्रभु नै रहने प्रभु इन्स्योरेन्स कम्पनीको दाबी थियो ।

त्यस्तै, मर्जरपछि अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्रीलाई सीईओ नियुक्त नगर्ने सहमति भएको थियो । आफू सीईओ हुन नपाउने भएपछि कुमार बहादुर खत्रीले कर्मचारीलाई उचालेर मर्जरको विरोध गर्न लगाएको स्रोतको भनाई छ । त्यस्तै, मर्जरपछि अजोडको नाम कहिँ कतै नआउने भएपछि अजोड पक्ष पहिले देखि नै असन्तुष्ट रहेको स्रोतको दाबी छ । जसका कारण अन्तिम चरणमा दुबै कम्पनी बिच मर्जर भङ्ग भएको हो ।

प्रभुसँग मर्जर भङ्ग भएपछि मंगलबार नै अजोडले युनाईटेडसँग छलफल गरेको थियो । युनाईटेड समूहले मर्जरपछि कम्पनीको नाम युनाईटेड अजोड रहने र कम्पनीको सीईओमा कुमार बहादुर खत्रीलाई नियुक्त गरिने सहमति भएको स्रोतले जनाएको छ ।

त्यस्तै, दुई कम्पनी बीच १००: ९० को अनुपातमा मर्जर हुने सहमति भएको छ । तर, डिडिएपछि स्वाप रेशियामा एडजस्ट गरिने समेत सहमति भएको छ ।

युनाईटेड र अजोडबीच पहिलो चरणको सहमतिको भएपनि मर्जर सफल हुनेमा भने सरोकारवाला निकाय भने अझै पनि सशंकित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।