सरकारी बैंकलाई पनि मर्जरमा जान गभर्नरको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका छन् । 

निजी क्षेत्रका बैंकहरुलाई नीतिगत सहजता र सुविधा दिएर मर्जरमा जान उत्प्रेरित गर्दै आएको केन्द्रीय बैंकका प्रमुखले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवमा औपचारिक रुपमै मर्जरमा जान सरकारी बैंकलाई सुझाव दिएका हुन् । हाल राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विका बैंक गरी तीन वटा सरकारी बैंक सञ्चालनमा रहेका छन् ।

मर्जरका कारण निजी क्षेत्रका बैंकहरु संख्या घटिरहेको अवस्थामा गभर्नर अधिकारीले सरकारी बैंकलाई पनि एक आपसमा मर्जर गरे सशक्त हुन सुझाएका हुन् । बैंकहरु हिजोको तुलनामा ठूला बन्दै गइरहेका भएपनि अन्य बैंकसँग तुलना गर्दा सरकारी बैंकहरु क्रमैसँग सानो बन्दै गइरहेको आवश्यकता बुझेर मर्जरमा अगाडि बढ्न उपयुक्त हुने उनले बताए । सरकारी बैंकहरू मर्जर भएमा प्रतिस्पर्धात्मक क्षमता बलियो हुने, बैंकिङ लगात घट्ने, ग्राहकहरूमा सस्तो सेवा प्रवाह गर्न सक्षम हुने उनको बुझाइ छ ।

सञ्चालनमा रहेका तीन सरकारी बैंकहरुको सञ्चालक समितिमा छलफल गरी मर्जरको आवश्यकतालाई महसुस गरेर मर्जरमा जान अहिलेका लागि उपयुक्त समय रहेको गभर्नर अधिकारीको ठहर छ । उनले भने ‘निजी बैंकहरुको मर्जरमा पनि राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन । बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ । कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि त हुनुहुन्न ? हामीलाई शंका लागिरहेको छ ।’

 

बैंकहरुको बिग मर्जरको प्रक्रियाले सानो नहुन खोज्दा खोज्दै, जहाँको त्यही हुन खोज्दा खोज्दै पनि अरुको तुलनामा सरकारी बैंकहरु सानो भइरहेको उनको तर्क छ । सरकारी बैंकहरुले पनि निजी बैंकहरु जस्तै व्यवसायिक आवश्यकता बुझेर मर्जर अंगाल्न उचित हुने उनले बताए । राष्ट्र बैंकले वित्तीय पहुँच अभिवृद्धि र डिजिटल बैंकिङ कारोबारलाई बढाएको उनले बताए । हालसम्म बैकिङ सेवालाई मुलुकभर बढाउने क्रममा हालसम्म ७५३ मध्ये ७५२ स्थानीय तहमा बैंकका शाखाहरु पुगेको तथा कोभिडपछि डिजिटल कारोबारमा सन्तोषजनक प्रगति हुँदै आएको उनले जानकारी दिए ।

कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले वाणिज्य बैंकहरु धमाधम मर्जरमा गइरहेको अवस्थामा सरकारी बैंकहरुले पनि सोही अनुसार प्रतिस्र्धामा उत्रनका लागि उपयुक्त रणनीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।