सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दरमा कमी आउने आइएमएफको प्रक्षेपण

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दरमा कमी आउने प्रक्षेपण गरेको छ ।

वल्र्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै आइएमएफले सन् २०२३ मा मुद्रास्फीति ८.८ प्रतिशतबाट घटेर ६.६ प्रतिशत कायम रहने उल्लेख गरेको हो ।

चिनियाँ अर्थतन्त्र चलायमान भएसँगै त्यसको सकरात्मक प्रभाव विश्वभर पर्ने र माग–आपूर्ति चक्रमा सुधार आउने प्रतिवेदनमा छ । चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारपछि आइएमएफले सन् २०२३ को आर्थिक वृद्धि दर समेत बढाएको छ ।

सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.९ प्रतिशत पुग्ने अनुमान आइएमएफले गरेको छ । उक्त प्रक्षेपण गत अक्टोबरको तुलनामा ०.२ प्रतिशत विन्दुले बढेको हो । यस अघि सन् २०२२को अक्टोबर महिनामा आइएमएफले सन् २०२२ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.७ प्रतिशत रहने जनाएको थियो ।

सन् २०२३ को आर्थिक वृद्धि दर सन् २०००–२०१९ यताकै कमी हो । यस्तै सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि दरमा सकरात्मक सुधार आउने र आर्थिक वृद्धि दर ३.१ प्रतिशत पुग्ने अनुमान छ ।

चीनको अर्थतन्त्रमा सुधार आउँदा विश्व अर्थतन्त्रमा वृद्धि देखिएता पनि विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति नियन्त्रणका निमित्त विकसीत तथा विकासशील देशहरुले अपनाएको संकुचित मौद्रिक नीति, आक्रामक शैलीमा बढाउँदै गएको ब्याजदर र रुस–युक्रेनबीच जारी युद्धका कारण विश्व अर्थतन्त्रमा असर कायमै रहने प्रतिवेदनमा उल्लेख छ ।

आइएमएफले सन् २०२३ मा विकसीत राष्ट्रहरुको आर्थिक वृद्धि दर १.२ प्रतिशत, उदायमान तथा विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४ प्रतिशत, उदायमान बजार व्यवस्था तथा मध्यम आयम भएका राष्ट्रहरुको आर्थिक वृद्धि दर ४ प्रतिशत र न्युन आय भएका विकासोन्मुख राष्ट्रहरुको वृद्धि दर ४.९ प्रतिशत रहने जनाएको छ।

यस्तै सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि दर १.४ प्रतिशत, युरो क्षेत्रको ०.७ प्रतिशत रहनेछ भने बेलायतमा आर्थिक मन्दीका कारण अर्थतन्त्र ०.६ प्रतिशतले खुम्चिने छ ।

सन् २०२३मा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशत अनुमान गरेको छ भने चीनको आर्थिक वृद्धि दर ३ प्रतिशतबाट बढेर सन् २०२३मा ५.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।